पोखरा– पोखरा १९ लामौचारकी एक बालिका शुक्रबार साँझ मृत फेला परेकी छन्।
बिन्धवासिनी मावि बाटुलेचौरको कक्षा ६ मा अध्ययनरत १४ वर्षीया पुष्पा केसी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। केसीले विहीबार विद्यालयबाट फर्किएदेखि नै सम्पर्कविहीन भएकी थिइन्। विद्यालयको बसले करिब साढे ४ बजे छाडे पनि उनी घर नपुगेको पारिवारिक स्रोतले जनाएको छ।
केसी विहीबार साँझसम्म घर नफर्केपछि परिवार र स्थानीय मिलेर खोजी कार्य तीव्र पारिएको थियो। शुक्रबार साँझमात्रै मृत अवस्थामा भेटिएको एक स्थानीयले बताए। पोखरा १९ फापरतरोमा केसीको शव भेटिएको हो।
घटनास्थल पोखरा १९ जिमेरे देखी करिब साढे २ किलोमिटर टाढा पर्ने प्रहरी स्रोतको भनाइ छ। ‘झोला भने घरभन्दा १ किलोमिटर आसपासमै भेटियो,’ स्रोतले भन्यो।
हत्याको शंका गरिए पनि बाँकी छानबिन भइरहेको एक प्रहरीले बताए। केसीको शव पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।