दाङ- का सुनचाँदी पसलहरु शुक्रबारदेखि बन्द भएका छन्। बजारमा सुनको अभाव भएपछि पसल बन्द गर्नु परेको व्यवसायीहरुले बताएका छन्।
बजारमा सुनको माग अत्याधिक बढेको बताउँदै सुनको अभाव हुँदा माग अनुसार उपलब्ध गराउन नसक्ने भएपछि पसल बन्द गर्नुको विकल्प नभएको नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिए।
'चाडपर्व नजिकिँदैछन्, यसैबैला सुन र गहनाको माग हुने गर्छ,' उनले भने, 'तर सुन नै नभएपछि पसल खोलेर मात्र के गर्नु?' संघको बैठकबाटै निर्णय गरेर पसल बन्द गर्ने निर्णय गरेको उनले बताए। आइतबारसम्म पसल बन्द हुने उनको भनाइ छ।
सरकारले सुनमा सिन्डिकेट लगाएको हुँदा पछिल्लो समय बजारमा सुन अभाव भएकोले तत्काल सिन्डिकेट खारेजीको माग गर्ने पनि संघले निर्णय गरेको छ।
उता, रुपन्देहीका सुन पसल पनि बन्द गरेका छन्।
सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक नभएको र चाडबाड नजिकिँदै गर्दा आपूर्ति कम भएकाले बन्द गर्नुपरेको रुपन्देही सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष एमबी विश्वकर्माले बताए। २०६८ सालमा जारी भएको सुन वितरणको नीति अहिले परिवर्तन नभएको उनको भनाइ छ।
बैँकले सरल र सहजरुपमा न्यूनतम ५० ग्रामदेखि आवश्यकता अनुसार सुन वितरण गर्ने प्रणाली हुनुपर्ने उनले माग गरेका छन्। जिल्लामा झन्डै ४ सय सुनचाँदी व्यवसायी छन् भने दैनिक तीनदेखि पाँच किलो सुन खपत हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।