काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कन्चनपुरको महेन्द्रनगरमा प्रहरीको गोली लागी एक किशोरको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
आज लगातार ३ ट्विट गर्दै घटनाको छानबिन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन्।
उनले प्रहरी अनुसन्धानमा सन्देह जनाउने जनतामाथि गोली प्रहार भएकोप्रति पनि भत्र्सना गरेका छन्।
‘निर्मला बलात्कार–हत्याको अनुसन्धानमा सन्देह जनाउने जनतामाथि गोली बर्साउने कार्यको म भत्र्सना गर्दछु। निर्मलाको परिवारलाई सुरक्षा दिन, नयाँ शिराबाट विश्वसनीय अनुसन्धान सुरु गर्न र तत्काल हाम्रा छोरीचेलीको सुरक्षा गर्ने कदम चाल्न सरकारसँग माग गर्दछु।’, उनले ट्विटमा लेखेका छन्।
हरेक दिनजसो बलात्कारका घटना हुनु राष्ट्रिय लज्जाको विषय भएको बताउँदै उनले लेखेका छन्,‘बलात्कारीलाई तत्काल दण्डित गर्न र पीडितलाई न्याय दिलाउन ‘फास्ट ट्र्याक कोर्ट’ को गठन जरुरी भइसकेको छ। यस विषयमा पनि म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।’
कांग्रेस सभापति देउवाका ३ ट्विट:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।