काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुरमा गोली चलेको घटनालाई यो समयमा कल्पनासम्म पनि गर्न नसक्ने घटना भनि टिप्पणी गरेका छन्।
‘न्याय माग्नका लागि सडकमा उत्रिएका नागरिकलाई गोली चलाएर निर्मम दमन गर्ने घटना २१औं शताब्दीमा कल्पनासम्म पनि गर्न नसक्ने घटना हो।’, उनले भने।
नेता पौडेलले कञ्चनपुरका सबै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। पौडेलले एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको बारेमा उचित छानबिनको माग गर्दै शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका सर्वसाधरणप्रति सरकारले निर्मम तवरले गोली चलाएको घटनाको सर्वप्रथम म धोर भत्र्सना गर्दछु। निहत्था नागरिक तथा बालबालिकामाथि अन्धाधुन्द गोली चलाउँदा आज १४ वर्षीया बालक चेतन भट्टको निधन भएको घटनाले अत्यत्नै दुःखी बनाएको छ। तत्काल कञ्चनपुरमा बलत्कारपछि हत्या भएको घटना देखि सर्वसाधरणमाथि अन्धाधुन्द गोली चलाइएको घटनाको बारेमा निष्पक्ष छानबिन होस्।’
उनले प्रदर्शनका क्रममा घाइते भएका सम्पूर्णको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग मागसमेत गरेका छन्।
यसैबीच, वरिष्ठ नेता पौडेलले कञ्चनपुरमा हिजो भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।