सप्तरी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कम्युनिष्टहरूको उग्रराष्ट्रवादले लोकतन्त्र धरापमा परेको आरोप लगाएका छन्।
शम्भुनाथ नगरपालिकामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सप्तरी आएका कोइरालाले भारतलाई गाली गरेर नेपालमा राष्ट्रवाद नआउने बताए। उनले भने, ‘यदि त्यस्तो कल्पना गरेको हो भने त्याग्दा नै राम्रो हुन्छ।’ कम्युनिष्टहरू ठूला–ठूला कुरा गरेर जनतालाई सपना देखाउने काम मात्र सिमित भएको उनको भनाइ छ।
‘देश माथि अरबौँ लगानी छ, भ्रामक कुरा गरेर जनतालाई सपना देखाउनु उचित हुँदैन’, उनले थपे, ‘उत्तर र दक्षिण दुवैतर्फबाट नेपालमा रेल आओस् भन्ने हामी पनि चाहान्छौं। तर, जनतालाई ऋण बोकाएर आएको रेलको कुनै औचित्य हुँदैन।’
नयाँ मुलुकी ऐन मार्फत प्रेसमाथि अंकुश लगाएर सरकार अधिनायकवादतर्फ उन्मुख भएको कोइरालाले बताए। ‘सरकार अधिनायकवादको अभ्यासमा लागेको छ, यसले लोकतन्त्र खतरामा पर्छ।’ कम्युनिष्टहरूको यही कृयाकलापका कारण संघीयता पनि खतरामा परिरहेको उनको आरोप छ।
‘प्रधानमन्त्री केपी ओलीले प्रदेश २ को प्रदेशसभामा हस्तक्षेप र प्रदेश ६ को मन्त्रिपरिषद् बैठकमै बसेर निर्देशन दिनुको अर्थ के हो?’, कोइरालाले प्रश्न गरे। कम्युनिष्ट सरकारबाट संघीयताको कार्यान्वयन नहुने कुरामा जनता विश्वस्त भएको बताउँदै कोइरालाले त्यसका लागि अब कांग्रेस नै अगाडि बढ्नुपर्नेमा जोड दिए।
‘प्रदेश आफैंमा अधिकार सम्पन्न हुन्छ,’ उनले भने, ‘तर, प्रदेशलाई अधिकारविहीन बनाएर संघीयता असफल बनाउने प्रयास भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।