काठमाडाैं–नेपालका राजनीतिक दलका नेताहरूले भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय अटल विहारी बाजपेयीलाई नेपालको महान मित्रको रुपमा स्मरण गरेका छन्।
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाजपेयीले नेपालसँगको मित्रतालाई विशेष महत्व दिएको स्मरण गरेका हुन्।
भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय बाजपेयीको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले बाजपेयीलाई नेपालको महान मित्रको रुपमा चित्रण गरे। उनले प्रधानमन्त्रीको रुपमा आफूले बाजपेयीलाई सार्क शिखर सम्मेलनमा भेट गरेदेखि नै बाजपेयी नेपालका लागि सबै खालको सहयोग गर्न प्रतिबद्ध महान हृदय भएका नेताका रुपमा आफूले पाएको बताए।
सभापति देउवाले भारतीय पूर्व प्रधानमन्त्री बाजपेयीको कवि व्यक्तित्वबाट आफू प्रभावित भएको पनि बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले बाजपेयीले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको स्मरण गराए। उनले बाजपेयीको व्यक्तित्व अद्भुत रहेकाले त्यसको प्रभाव आफूमा किशोर अवस्थामा हुँदा नै परेको पनि बताए।
भारतीय पूर्व प्रधानमन्त्री स्वर्गीय बाजपेयीलाई भारत र भारतीय जनताले ‘भारत रत्न’ र ‘एशीयाका महान नेता’ को उपमा दिएका छन्। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बाजपेयीले छिमेकी नेपालसँगको सम्बन्धलाई दिएको महत्वको चर्चा गरेका थिए।
कार्यक्रम नेपाल भारत मैत्री समाजले आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।