काठमाडौं– कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि गरिएको हत्यामा संलग्न अपराधी पक्राउ गर्न माग गर्दै आन्दोलन चर्किएकोमा प्रतिनिधिसभाले महिला हिंसा र बलात्कार विरुद्ध संकल्प प्रस्ताव पास गरेको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद विन्दा पाण्डेसहित २२ महिला सांसदहरुले दर्ता गरेको संकल्प प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो। असार २१ गते दर्ता भएको उक्त संकल्प प्रस्तावमाथि शुक्रबार छलफल गर्दै पारित गरिएको हो।
संकल्प प्रस्तावमाथि बोल्दै सांसदहरुले बलत्कार जस्तो जघन्य अपराधमा जिवनभर कैदमा राख्ने प्रस्ताव गर्न माग गरेका थिए। महिला सांसदहरुले बालिका, वृद्ध र सुस्त मनस्थितिका महिलालाई बलात्कार गर्नेलाई मृत्युदण्ड बराबरको सजाय हुने कानुनी व्यवस्था गर्न माग गरेका थिए।
‘महिलामाथिको हिंसाका घटनामा सरकार गम्भीर छ’, प्रतिनिधिसभा बैठकमा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले भनिन्,‘महिलामाथि हुने कुनै पनि हिंसाविरुद्ध सरकार कडा रुपमा उत्रिन्छ। यस्ता घटनाहरुमा कडा सजाय दिने केही कानुनहरु सरकारले मस्यौदा गरिरहेको छ।’
बलात्कार र महिलामाथिको हिंसाका घटनाहरुमा अदालतमा निरन्तर सुनुवाईलाई थप प्राथमिकता दिने, महिला हिंसा सम्वन्धी अन्य कानुनका लागि छिट्टै संसदमा सरकारले विधेयक पेस गर्ने बताउँदै उनले सरकारप्रति भरोसा राख्न आग्रह गरिन्।
पीडितहरुलाई सरकराले सहायता समेत जिल्ला र स्थानीय तहबाट वितरण गर्न थालेको उनको भनाइ थियो। सामाजिक न्याय, महिला हिंसा र यौनजन्य हिंसालाई न्युनिकरण गर्न यस सम्बन्धी विषयलाई पाठ्यक्रममा समेत समावेश गर्ने विश्वास दिलाउँदै मन्त्री थापाले सरकारको कामप्रति शंका नगर्न आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।