काठमाडौं– सशस्त्र प्रहरी ऐन जारी भएको दिनको अवसरमा सशस्त्र प्रहरी बलले बिहीबार देशभर रक्तदान कार्यक्रम आयोजना गरेको छ।
प्रधान कार्यालय लगायत सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रक्तदान कार्यक्रम’मा स्थानीय व्यक्ति, विभिन्न विद्याका राष्ट्रिय खेलाडी, नेपाल पूर्व सशस्त्र प्रहरी संघ, सशस्त्र प्रहरी परिवार महिला संघ तथा सशस्त्र प्रहरी कर्मचारी तथा संचारकर्मीले रक्तदान गरेका छन् । सबै ठाउँमा गरी बिहीबार दिउँसोसम्म करीव ८ सय पिन्ट रक्तदान भएको छ।
प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, पूर्व आइजिपी सनतकुमार बस्नेत लगायत वरिष्ठ अधिकृतले समेत रक्तदान गरेका थिए।
सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिन सशस्त्र प्रहरी बल नेपालले देशभर रहेका सशस्त्र प्रहरी बलको बाहिनी मुख्यालयहरु तथा प्रधान कार्यालयमा ‘सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रम’को आयोजना गर्ने कार्यको यस वर्षबाट थालनी भएको सशस्त्र प्रहरीले जनाएको छ।
मृत्यु र जीवनको दोसादमा रहेका आम नागरीकहरुलाई रक्तदान गरी जीवनदान दिनुपर्छ भन्ने अभियानका साथ संगठनले रक्तदान कार्यक्रमलाई सबै एपीएफ इकाईहरुमा निरन्तरता दिने महानिरीक्षक खनालले बताएका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।