काठमाडौं– प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिले कार्यविधिको मस्यौदा तयार पार्न उपसमिति गठन गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले समितिको आफ्नै कार्यविधिको मस्यौदा तयार पार्न कृष्णभक्त पोखरेल, पदमनारायण चौधरी र शशी श्रेष्ठ रहेको ३ सदस्यीय उपसमिति गठन गरेको हो। समितिको कार्यविधिको मस्यौदा तयार पार्न ३ सदस्यीय उपसमिति गठन गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए। उपसमितिलाई ५ दिन भित्र कार्यविधिको मस्यौदा तयार पारी समितिमा पेस गर्ने कार्यादेश दिइएको छ।
बैठकमा समितिका सदस्यहरुले कार्यविधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिएका थिए। समितिका सदस्य एवम् पूर्व सभामुख सुवास नेम्वाङले कानुन निर्माणको कामलाई तीव्रता दिनुपर्ने भएकाले समितिले कार्यविधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिएका थिए। उनले विगतका अभ्यास र अन्य समितिको कार्यविधिलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि बनाउनुपर्ने पनि बताए।
समितिका अर्का सदस्य देवप्रसाद गुरुङले राष्ट्रिय मानव अधिकार आयोग र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग परामर्श गरेर समितिको कार्यविधि बनाउन उपयुक्त हुने सुझाव दिए।
समितिका सदस्य गुरुङले समितिको कार्यविधि तय गर्दा अदालत र समितिको क्षेत्राधिकारमाथि विवाद आउन दिन नहुनेतर्फ पनि सचेत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।