काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला प्रदेश तथा जनवर्गीय संगठनहरूले एकिकरणको प्रतिवेदन केन्द्रलाई बुझाउन बिहिबार सम्मको अवधि दिइएको छ। तोकिएको अवधिमा सहमति हुन नसके पनि सचिवालयले प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।
जिल्ला समितिहरूलाई एकिकरणको लागि दिइएको अवधिमा अधिकांश जिल्ला कार्यदलले नेतृत्वको टुंगो लगाई केन्द्रमा पठाएका छन्। प्रदेश १ मा ३ जिल्लामा सहमति हुन सकेको छैन। ओखलढुंगा ,सोलुखुम्बु र उदयपुरमा सहमति हुन सकेको छैन भने ९ जिल्लामा पूर्व एमालेका अध्यक्ष हुने भएका छन्। एमालेले पाएका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, झापा,भोजपुर, इलाम, धनकुटा,मोरङ , तेह्रथुम र सुनसरी छन्। माओवादी केन्द्रले संखुवासभा र खोटाङमा अध्यक्ष पाउने भएको छ।
प्रदेश २ मा ४/४ जिल्लामा नेतृत्व भागबण्डा गर्ने अनौपचारिक सहमति भएपनि बारा जिल्लाको नेतृत्व टुंगिन बाँकी रहेको छ। प्रदेश ३ मा ८ जिल्ला एमालेको भागमा परेको छ भने माओवादीको भागमा ४ जिल्ला परेको छ। एमालेको भागमा परेका जिल्लाहरूमा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक र दोलखा छन्। चितवन, नुवाकोट, काभ्रे र रामेछापमा पूर्व माओवादी केन्द्रका अध्यक्ष हुनेछन्।
प्रदेश ३ मा पर्ने उद्योगी व्यवसायी विशेष जिल्ला समिति र पेसागत जिल्ला समितिमा एमालेबाट नेतृत्व हुनेछ भने मजदुर विशेष समितिमा माओवादी केन्द्रले नेतृत्व गर्ने भएका छन्। प्रदेश ४ मा सहमति हुन नसकेपछि अध्यक्ष र सचिवमा विघटित दलल आ–आफ्नो तरिकाले नाम सिफारिस गरेका छन्। गोरखा, लमजुङ, कास्की ,म्याग्दी वाग्लुङ,मनाङमा एमालेका एक एक जनाको अध्यक्षमा नाम सिफारिस गरेको छ भने तनहुँमा २,पर्वतमा २, नवलपुरमा २, स्याङ्जामा ३ जनालाई सिफारिस गरिएको छ।
एमालेले अध्यक्षमा दाबी गरेका सबै ती जिल्लाहरूमा पूर्व माओवादी केन्द्रले अध्यक्षको दाबी सहित नाम पठाएको छ। प्रदेश ५ मा ६ जिल्ला एमालेको भागमा परेको छ भने माओवादी केन्द्रको भागमा ५ जिल्ला परेका छन्। एमालेले लिएका जिल्लाहरूमा गुल्मी, पाल्पा, रूपन्देही, प्युठान, दाङ, अर्घाखाँची छन्।
पश्चिम नवलपरासी ,बाँके, बर्दिया, रोल्पा रुकुमको नेतृत्व माओवादीमा पुगेको छ। प्रदेश ६ मा कालिकोट र मुगुको सहमति हुन सकेको छैन। हालसम्म टुंगिएका जिल्लाहरूमा ४/४ बाँडिएको छ। सुर्खेत,दैलेख, जुम्ला र डोल्पा एमाले र जाजरकोट, जुम्ला, सल्यान, रुकुम माओवादी केन्द्रले लिने भएको छ। प्रदेश ७ मा एमालेले ५ र माओवादी केन्द्रले ४ जिल्ला लिने सहमति भएको छ।
एमालेका अध्यक्ष हुने जिल्लाहरूमा वैतडी ,कैलाली,अछाम ,बाजुरा र डोटी रहेका छन्। माओवादी केन्द्रले कञ्चनपुर,डडेल्धुरा,दार्चुला र बझाङ लिने भएको छ। नेकपाको ७७ जिल्ला कमिटी सहित ४ विशेष जिल्ला कमिटी रहेका छन्। २२ वटा जनवर्गीय संगठन रहेको नेकपामा कुनैपनि संगठनले नेतृत्व चुन्न सकेका छैनन्।
समितिको संख्यामा सहमति भएपनि भातृ संस्थाहरूले नेतृत्व चयन गर्न सकेका छैनन्। नेकपा टिकट पत्रकारहरूको संगठनले भने शुक्रबार मात्रै एकिकरण प्रतिवेदन महासचिवलाई बुझाउने बताइएको छ। जिल्लामा पार्टीको हैसियत अनुसार अध्यक्ष र सचिवको बाँडफाँड गरिएको छ।
अधिकांश जिल्ला समितिहरूमा ५५ र ४५ प्रतिशतको अनुपातमा भागबण्डा गरिएको छ। पूर्व एमालेका तर्फबाट अध्यक्ष भएका स्थानमा पूर्व माओवादीबाट सचिव र माओवादीबाट अध्यक्ष भएको जिल्लामा एमालेका सचिव हुने मापदण्ड बनाइएको छ। ३ दिन अघि बसेको सचिवालय बैठकले बिहिबार सम्मको म्याद दिएको थियो।
जिल्ला कार्यदलले महासचिव विष्णु पौडेललाई प्रतिवेदन बुझाउनु पर्नेछ। कार्यदलले खामबन्दी गरेर नामावली महासचिवलाई बुझाउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।