काठमाडाैं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राज्यका नीति नियमहरू उद्योग व्यवसायी मैत्री नभएको बताएका छन्। इभेन्ट्स एण्ड भेन्यु एसोसियनको वार्षिकोत्सवमा बोल्दै प्रचण्डले उद्योग व्यवसाय गर्ने व्यक्तिलाई राज्यले नाफाखोर जस्तो नकरात्मक दृष्टिकोणले हेर्दै आएको बताए।
उद्योगी र व्यवसायीलाई राज्यले प्रोत्साहित नगरे आर्थिक वृद्वि सम्भव नहुने बताए। अध्यक्ष दाहालले राज्यका नीति, नियम र ऐन प्रयोग गर्ने क्रममा धेरै समस्या रहेको औंल्याए। उनले देशमा आर्थिक विकास तथा रोजगारी सिर्जना गर्ने काम राज्य वा निजी क्षेत्र जसले गरेपनि सकरात्मक कार्य हुने बताए।
नेपालमा उद्योग व्यवसायीलाई प्रोत्साहित गर्ने संस्कार बन्न नसकेको बताउँदै उनले भने ‘जनतालाई बलियो बनाए मात्रै विकास हुन्छ, राज्यले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्छ।’ प्रचण्डले सरकारले उद्योग व्यवसायीलाई नाफा कमाउने स्वतन्त्रता दिनुपर्ने धारणा राखे। उनले भने ‘निजी क्षेत्रलाई व्यवसायीक स्वतन्त्रता दिए लगानी बढ्छ, नियन्त्रण गरे पुँजी पलायन हुन्छ।’
त्यसैगरी नाफा कमाउन पनि नागरिकको अधिकार भएको मान्यता स्थापित हुनुपर्ने बताए। उद्योगी तथा व्यवसायीलाई राज्यले ‘ठगहरू’ भन्ने परम्परा छ भने अर्को तिर निजी क्षेत्रले सरकारको गलत मानसिकताका विरुद्व कर छलिको नकरात्मक अभ्यास गरिरहेको उनले बताए।
प्रचण्डले सामाजिक सुधार ऐनमा रहेका गलत प्रावधानलाई पनि हटाउने प्रतिवद्वता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।