नुवाकोट- नुवाकोटको लिखु गाउँपालिका वडा नं १ को ढिकुरेमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
करेन्ट लागेर मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नं १ की तुलसा अधिकारी रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले बताए। घाइते हुनेमा बेलकोटगढी नगरपालिकाकी १७ वर्षीया सदीक्षा पौडेल, लिखु गाउँपालिका वडा नं १ का लालप्रसाद लामिछाने रहेका छन्। घाइतेहरुको नुवाकोटको विदुरमा रहेको सिटी अस्पतालमा उपचारपछि थप उपचारको लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिएको छ।
लिखु गाउँपालिका वडा नं १ ढिकुरेस्थित ३३ हजार केभी प्रसारण लाइनको पोल ढल्किँदा तार लत्रिएको र करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
यसैबीच विद्युत प्राधिकरणका कर्मचारीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै लिखु गाउँपालिकाका बासिन्दाले नुवाकोट सदरमुकाम विदुरमा यातायात बन्द गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।