स्याङ्जा- नेतृत्वमा सहमति हुन नसकेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)स्याङ्जाले सबै दाबेदारकाे नामावली सहितकाे प्रतिवेदन केन्द्रलाइ बुझाउने भएकाे छ। १ सय ४५ सदस्यीय जिल्ला कमिटी बनाउने सहमति भएपनि नेतृत्वमा टुंगो लगाउन नसकेपछि संख्यामा मात्रै भएको सहमति बुझाउने तयारी गरेको छ।
तत्कालीन एमाले र माओवादी केन्द्र दुबै दलबाट अध्यक्ष र सचिवमा दाबी भएपछि एकता प्रक्रिया टुङ्गिन सकेको नसकेको हो। तत्कालीन एमालेबाट पाँच र माओवादी केन्द्रबाट तीन जनाले दाबी जिल्लाको नेतृत्व दावी गरेपछि जिल्ला तहले नेतृत्वको तय नगरी प्रतिवेदन बुझाउन लागेको हाे।
अध्यक्षका लागि पूर्व एमालेबाट मीनप्रसाद गुरुङ, उदय श्रेष्ठ, सुधीर पौडेल, रामचन्द्र भट्टराई र कृष्ण खाँण आकांक्षी देखिएका छन्। यस्तै पूर्व माओवादी केन्द्रबाट शैलेन्द्र घिमिरे, शोभाखर ढकाल र ताराप्रसाद भुसालले दाबी गरेका छन्।
सचिवमा पूर्व एमालेबाट राजेन्द्र डुम्रे तथा माओवादी केन्द्रबाट प्रकाश न्यौपाने र सुर्यप्रसाद गैरेले दाबी गरेका थिए। अन्तिम चरणसम्म पनि रामचन्द्र भट्टराई र कृष्ण खाँण र पुर्व माओवादीबाट शैलेन्द्र घिमिरेले अध्यक्षमा दावी नछाडेको बताइएको छ। सचिवमा भने तीनै जनाले नै दाबी छोडेका छैनन्।
जिल्ला नेतृत्वको लागि व्यक्तिहरुको दाबी यथावत् रहेको जानकारी दिँँदै सचिवका दाबेदार न्यौपानेले भने ‘बिहिबार आ–आफ्नो दाबी सहितको रिपोर्ट केन्द्रमा पेश हुन्छ’।
तत्कालीन एमालेबाट ७ र माओवादी केन्द्रबाट ५ जना सहभागी हुने कार्य समितिमा ६० र ४० को अनुपातमा जिल्ला कमिटीमा रहने सद्स्यकाे संख्या भने टुङ्ग्याइएको छ। तत्कालीन एमालेबाट ८७ र माअाेवादीबाट ५८ जनासहित १ सय ४५ सदस्यीय जिल्ला कमिटी बन्नेछ। जिल्लामा भएकाे सहमती केन्द्रमा बुझाउने बिहीबार अन्तिम दिन हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।