माले- माल्दिभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ।
जेल जीवन बिताइरहेका ८३ वर्षीय गयुमको अवस्था थप बिग्रिँदै गएको चिकित्सकहरूले जानकारी दिएका छन्। उनलाई राखिएकै ठाँउमा भेट्न गएको चिकित्सकहरूको टोलीले गयुमलाई विषेश उपचारको व्यवस्था गर्न सुझाव दिएको छ।
एम्नेस्टी इन्टरनेसनलका थायीब इबु फैसलले सामाजिक सञ्जाल ट्वीटरमा ८३ वर्षीय वृद्ध पूर्वराष्ट्रपति गयुम धेरै बिरामी भएको उल्लेख गरेका छन्। चिकित्सकहरूको टोलीले उनलाई थप उपचार आवश्यक भएको सिफारिस गरेको पनि फैसलले ट्वीटमा उल्लेख गरेका छन्।
चिकित्सकहरूको सिफारिश र एम्नेस्टीको आग्रहलाई माल्दिभ्सको सुधार विभागले भने अस्वीकार गर्दै आइरहेको समाचारमा जनाइएको छ।
गयुमकी छोरी तथा पूर्वविदेश मन्त्री डुन्या मौमुनले पनि ट्वीट गर्दै आफ्नो बुबाको स्वास्थ्य अवस्था राम्रो नभएको थाहा पाएको बताएकी छन्।
माल्दिभ्सको अदालतले १९ महिने जेल सजायको फैसला गरेकाले गयुम गत जुनदेखि काराबास जीवन भोगिरहेका छन्।
आगामी निर्वाचनबाट पनि अर्को कार्यकालका लागि आफ्नो जितलाई सजिलो बनाउन वर्तमान राष्ट्रपति अब्दुल्ला यमिनको योजनाअनुसार अदालतले उनलाई जेल सजायको फैसला गरेको आरोप लागेको छ।
गयुमसँगै तत्कालीन प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो।
उनीहरूलाई फरकफरक आरोप लगाइएको छ। गयुमलाई आतङ्कवादलाई सहयोग गरेको आरोप लगाइएको छ भने प्रधानन्यायाधीश र न्यायाधीशलगायत अन्य न्यायिक अधिकारीहरूलाई सरकार ढाल्न घुस लिएको आरोप लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।