कास्की– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप जग्गा अतिक्रमण नगर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको बोलीलाई विश्वास मान्न नसकिने पोखरा अन्तराष्ट्रिय विमानस्थल संघर्ष समितिले जनाएको छ।
निर्माणाधिन विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्ने क्रममा अधिकारीले थप जग्गा अधिग्रहण नगरिने बताएका थिए। शिलान्यास कार्यक्रममा भने पीडित जग्गा धनीहरूलाई बोलाइएको थिएन। पटकपटक अधिग्रहण नगरिने बताए पनि अधिग्रहणको सूचना जारी हुने क्रम नरोकिएकोले विस्वस्त हुन नसकेको आयोजना पीडित संघर्ष समितीका अध्यक्ष गनेस पौडेलले बताए।
साउन २१ गते विमानस्थल आयोजनाले ह्यांगर, आयल डिपोट र ग्लाइड पथका लागि जग्गा अपुग भएकाले थप अधिग्रहण गर्ने जनाएको थियो । २०७१ मा पनि तत्कालिन मन्त्रीले जग्गा अधिग्रहण गर्ने बताएको जनाउँदै पौडेलले भने ‘जग्गा बापत जग्गा नै दिने भनिएको थियो, अहिले अधिग्रहण गरिन्न भनेका छन्। मन्त्रीको बोलीको विश्वास लाग्दैन।’
आयोजनाले यसपटक सहित गरि सातौँ पटक जग्गा अधिग्रहणको सूचना निकालेको हो। सूचना प्रकाशित भएसँगै स्थानीय जग्गा धनीहरू आन्दोलित भएका थिए। आन्दोलित जनताहरूले मन्त्रीलाई प्रश्न गर्ने भएकाले नबोलाइएको पौडेलले बताए।
स्थानीयहरूले जग्गा अधिग्रहण र तोकिएको मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।