डडेल्धुरा–कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरामा पनि प्रदर्शनको गरिएको छ। निर्मलाको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरा सदमुकाम बागबजारमा बुधबार नागरीक समाजका अगुवाहरूले आन्दोलन गरेका हुन्।
कञ्चनपुर प्रहरी सोमबार अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको यहाँका नागरीक अगुवाहरूको आरोप छ। प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी बनाइ वास्तविक दोषीको बचाउ गरेको भन्दै आन्दोलन गरिएको पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मान बहादुर साउदले बताए।
‘निर्मला पन्तको हत्यारालाई कारबाही गर, मानव अधिकारको रक्षा गर’ लगायतका नारा लगाउँदै शान्तीपूर्ण आन्दोलन तथा एक घण्टा चक्काजाम गरिएको छ।आन्दोलनमा नागरीक समाजका अगुवा, स्थानिय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो।
निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानविन नभए आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने महिला मुक्ती समाजकी अध्यक्ष आरती जोशीले बताइन्।आन्दोलनका कारण एक घण्टासम्म सडक अवरुद्ध भएको थियो।

आन्दोलनकारीहरूले कञ्चनपुरका प्रहरी प्रमुखले दोषीलाई लुकाउन खोजेको भन्दै प्रहरी प्रमुखलाई निलम्बन गर्नु पर्ने, दोषीलाई कडा कारबाही हुनुपर्ने माग राखेका छन्।प्रहरीले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको भन्दै मानसिक सन्तुलन गुमाएका स्थानिय दिलिप सिंह विष्टलाई सार्वजनीक गरेको थियो।
साथीको घरमा जान्छु भनी निस्केकी १३ वर्षीय निर्मला पन्त गत साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।