काठमाडाैं–राष्ट्रिय जागरण परिषद् नेपालले नागरिकता ऐन–२०६३ लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको गम्भीर ध्यानाकर्षण गराएको छ।
परिषद्ले सरकारले हालै संघीय संसदमा पेश गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न बुधबार सभामुख महराको ध्यानाकर्षण गराएको हो। परिषद्ले नागरिक सम्बन्धि विद्यमान समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक नागरिकता छानबिन आयोग गठन गर्न सरकारलाई सचेत गराउन पनि सभामुख महरासँग आग्रह गरेको छ।
राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न सभामुख महराको गम्भिर ध्यानाकर्षण गराइएको वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले जानकारी दिए। उनले सामाजिक परिवेश, राष्ट्रिय विशेषताहरूको आधारमा नागरिकता वितरणको कामलाई अघि बढाउनुपर्ने बताए।
सभामुख महराले पनि नागरिक सम्बन्धि ऐन संशोधनका लागि परिषद्ले दिएको सुझावलाई आफूले गम्भीर रुपमा लिएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारसँग पहल गर्ने आश्वासन दिए। उनले परिषदले दिएको सुझावलाई अध्ययन गरेर प्रतिनिधिसभामा पनि आवश्यक छलफल गराउने बताए।
परिषद्ले नेपाली नागरिक महिलाले विदेशी नागरिकतासँग बिहे गरी विदेशमै बसोबास गरेमा उनको नागरिकता विवाह भएको ६ महिनापश्चात् स्वतः खारेज हुने कानुनी व्यवस्था गर्नुपर्ने लगायतका माग सरकारसँग राख्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।