काठमाडौं- सांगीतिक ब्यान्ड नेपथ्य तेस्रो पटक बेलायतमा प्रस्तुत हुने भएको छ। पाँच वर्षअघि विम्बले एरेनामा ऐतिहासिक प्रस्तुति दिएको र त्यसैलाई पछ्याउँदै तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि आफूलाई ओ टु एकेडेमीमै उभ्याउँदैछ।
सेप्टेम्बर १ तारिख (भदौ १६) का दिन बेलायतमा प्रदर्शनको तयारी ब्याण्डले सुरु गरिसकेको छ।
‘सन् २०१५ मा दोस्रो पटक नेपथ्यले आफूलाई प्रस्तुत गर्दा सबै हिसाबले ब्याण्डका निम्ति त्यसलाई अनुकूल देखिएकोले फेरि त्यसै स्थललाई रोजेका हौं’,’ ब्याण्डलाई प्रवर्द्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने।

कार्यक्रमका निम्ति ओ टु एकेडेमीले पहिले जस्तै अनलाइन बुकिङको समेत ब्यवस्था गरेको छ। हलमा बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुले आफूलाई उभ्याएर प्रस्तुत गरिसकेका छन्।
‘हामीले घरबाट टाढा पुगेकाहरुलाई घरको माया बोकेर लगिदिने गरेका छौं,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘बेलायतको मञ्चमा उभिँदा मलाई जहिले पनि त्यहाँको आत्मीयताले प्रभाव पारिरहेको हुन्छ।’
नेपथ्यको नयाँ एल्बमको काममा लागिरहेको बताउँदै अमृतले लण्डनमा नेपथ्यका सर्वकालीक हिट गीतका साथमा नयाँ गीत पनि सुनाउने बताए।
सधैझैं यसपटक पनि लण्डनमा अमृतलाई उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।