नेपालगञ्ज–नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन्।
नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो , यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ’ ।
पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइ नसकेको बताए। तर, सरकारले मुलुकका सही दिशा दिन नसकेको टीप्पणी गरे ।
यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको बताए।
कार्यक्रममा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिए।
बाँके काँग्रेस सभापति किरण कोइरालालगायत सहभागी कार्यकर्ताले पार्टी सङ्गठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेको लगायतका गुनासा राखेका थिए। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।