काठमाडौं– संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा शून्य समयको अभ्यास सुरु भएको छ। सार्वजनिक महत्वको विषयमा एक मिनेटभित्र सांसदले प्रश्न उठाउने प्रतिनिधिसभाको अभ्यास राष्ट्रियसभामा पनि सुरु भएको हो।
आजको शून्य समयमा ४ जना सांसदले आफ्नो धारणा राखेका थिए। शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले दाङमा सञ्चालित सिमेन्ट उद्योगहरुले मापदण्ड पालना नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले प्रश्न गरिन्, ‘उद्योग स्थापना गर्दा सहमत भएको मापदण्ड अहिले किन अवलम्बन भएन? त्यसको छानबिन होस्।’
अर्की सांसद उदया शर्मा पौडेलले कर वृद्धिको बारेमा एकरुपता कायम राख्न माग गरिन्। ‘मैले विवाह दर्ता, जन्म दर्ता लगायत कार्य गर्दा जम्मा ५ सय १० रुपैयाँ कर तिरेकी थिएँ,’ उनले भनिन््, ‘अहिले सडकदेखि सदनसम्म कर बढेको भन्ने कुरा आएको छ। त्यो एकरुपमा ल्याउनु पर्यो।’
सांसदहरु कविता बोगटी र ठगेन्द्रप्रकाश पुरीले पनि शून्य समयमा आफ्नो धारणा राखेका थिए। शून्य समयमा बोल्दै सांसद पुरीले यातायातको सिन्डिकेट तोड्ने कदम स्वागतयोग्य भएपनि जनताले किन महशुस गर्न सकेनन् भनि प्रश्न उठाए।
यस सम्बन्धमा सरकारको कदम कहाँ पुगेको छ, सो बारेमा सदनमा जानकारी गराउन उनले मागसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।