धनगढी– प्रदेश ७ मा तत्कालीन दुई बामपन्थी पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई अन्तिम रुप दिइँदैछ।
नेकपाले प्रदेशका सबै तहका संगठन एकाईहरुलाई पूर्णता दिने कार्य तीब्र बनाएको छ। यस क्रममा प्रदेशका अधिकांश जिल्लामा एकताको खाका तयार गरिएको छ।
नेकपाका स्थायी समिति सदस्यद्वय भीमबहादुर रावल तथा लेखराज भट्ट तथा केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा र लक्ष्मणदत्त जोशी सहितका नेताहरुले जिल्ला अध्यक्ष र इन्चार्जको परामर्शमा गता बिहीबारसम्म जिल्ला नेतृत्व र कमिटीको प्रारम्भिक खाका तयार पारेको जनाइएको छ।
एकताको खाका अनुसार प्रदेश ७ का ९ जिल्लामध्ये ५ जिल्लामा तत्कालीन नेकपा (एमाले) पक्षले र ४ जिल्लाको तत्कालिन माओवादी केन्द्र पक्षले नेतृत्व पाउने भएका छन्।
नेकपा स्रोतका अनुसार कैलाली, डोटी, अछाम, बाजुरा र बैतडीमा तत्कालिन एमाले र कञ्चनपुर, डडेलधुरा, दार्चुला र बझाङमा माओवादी केन्द्र पक्षले जिल्लाको नेतृत्व लिने छन्।
कैलालीमा एमालेका पुराना नेता दिनेशचन्द्र सुवेदी, डोटीमा चक्रबहादुर मल्ल र बैतडीमा सुरेन्द्र पाल नेकपाका जिल्ला अध्यक्ष बन्नेछन्। मल्ल र पाल तत्कालीन एमालेका बहालवाला जिल्ला अध्यक्षसमेत हुन्। अछाममा कृष्णप्रसाद जैसी, बमबहादुर बिसी र कमल तिमिल्सिनामध्ये एक हुने चर्चा छ।
त्यस्तै, कञ्चनपुरमा बीरबहादुर थापा, बझाङमा मीनबहादुर कुँवर, दार्चुलामा गणेशसिंह खत्री र डडेलधुरामा मानसिंह माल अध्यक्ष हुने नेकपा स्रोतले जनाएको छ। बाजुरामा अध्यक्ष पदका लागि कार्यदलले भरत थापाको नाम सिफारिस गरेको छ।
प्रदेश र्इञ्चार्ज भीम बहादुर रावल, सह–र्इञ्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिवमा लक्ष्मण जोशीको नाम केन्द्रमा सिफारिस गरिएको पनि स्रोतले जनाएको छ।
जिल्ला तथा प्रदेश कमिटीको अन्तिम सूची तयार गर्न काठमाडौंमा बिहीबार साँझसम्म स्थायी समिति सदस्यद्वय रावल र भट्ट तथा केन्द्रीय सदस्यहरू सहितका नेताहरूको बैठक बसेको बताइएको छ। एकताको खाका बनाउन ९ वटै जिल्लाका अगुवा नेताहरु संघीय राजधानी काठमाडौं पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।