इश्लामावाद– पाकिस्तानका नवगठित सरकारका विदेशमन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गरेका छन्।
सोमबार भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उनले बताएका छन्। ‘हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार सम्पन्न शक्ति पनि हौँ,’ पाकिस्तानका नयाँ विदेशमन्त्री शाह मेहमुद कुरेशीले भने।
दोस्रो पटक विदेशमन्त्री भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले भारतसँगको सम्वन्धकै विषयमा बढी जोड दिएका हुन्।
यसअघि आइतबार दिएको पहिलो टेलिभिजन सम्वोधनमा पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले पनि भारतसँगको सम्बन्ध सुधार्नेतर्फ आफ्नो जोड रहने बताएका थिए।
‘हामीसँग लामो समस्या छ, मलाई वार्ता भन्दा बाहिरबाट यसको समाधान हुन्छ भन्ने लाग्दैन,’ कुरेशीले थपे। उनले भारत र पाकिस्तानबीचमा निकास ननिस्किँदासम्म नटुङ्गिने वार्ताको आवश्यकता रहेको बताए।
बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४७ देखि नै भारत र पाकिस्तानबीच नराम्रो सम्बन्ध रहदै आएको छ।
विशेष गरेर काश्मिर क्षेत्र आफ्नो देशको सिमाना भित्र पर्ने दुवै पक्षले दावी गरेकाले विवाद हुँदै आएको हो भने त्यही विवादका कारण तीन पटकसम्म युद्ध नै भएको थियो।
खानलाई बधाई दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश पठाएको पनि कुरेशीले जानकारी दिए। तर, भारतीय विदेश मन्त्रालयले भने कुनै औपचारिक पत्र नपठाएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी गराए।
नयाँ विदेशमन्त्री कुरेशीले नयाँ शीराबाट आफगानिस्तानसँगको प्रेम र मित्रता अगाडी बढाउन चाहेको सन्देश दिन आफूले अफगानिस्तानको पनि भ्रमण गर्ने इच्छा रहेको बताए।
‘अफगानिस्तानमा शान्ति र स्थिरता नहुँदासम्म पाकिस्तानमा पनि शान्ति र स्थिरता हुँदैन,’ उनले भने। खान नेतृत्वको मन्त्रीपरिषद्मा पनि विदेशमन्त्रीको जिम्मेवारी पाएका कुरेशी यसअघि सन् २००८ देखि २०११ सम्म पनि विदेश मन्त्री बनेका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।