काठमाडौं– सोमबार दिउँसो काठमाडौंमा भएका दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
काठमाडौँको तिनकुने सडक खण्डमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कटुरमा पछाडी सवार काठमाडौको सिनामंगल बस्ने ६८ वर्षीया सानु गिरी रहेकी छिन् ।
दिउँसो साँढे ३ बजे एयरर्पोटबाट तिनकुनेतर्फ आउँदै गरेको बा ४ ख १११ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको बा ९१ प ५४२७ नम्बरको स्कुटरलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा गिरीको घटनास्थलमै मृत्यु भएको हो । सवारी साधन र बस चालकलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ।
उता काठमाडौको टोखा नगरपालिका–९ ग्रिनल्याण्डचोकमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक सहित २ जना घाईते भएका छन् । घाईते हुनेमा स्कुटर चालक भक्तपुर लोकन्थली बस्ने ४३ वर्षीया सरला नेपाल र स्कुटरमा पछाडि सवार ५६ वर्षीया लक्ष्मी अर्याल रहेका छन् । घाईतेहरुको ग्राण्डी अस्पताल धापासीमा उपचार भैरहेको छ । घाईते मध्ये लक्ष्मीको अवस्था भने गम्भिर रहेको ट्राफिक प्रहरीले जनाएको छ।
दिउँसो १ बजे बा १ ख ९१४७ नम्बरको मिनी ट्रकले बा ३० प ७४५३ नम्बरको स्कुटरलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न सवारी साधन सहित मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।