काठमाडौं– अभिनेत्री रेखा थापा र गायिका आस्था राउत स्वभावतः पनि हक्की छन् । मनोरञ्जन क्षेत्रका यी दुई ‘बोल्ड’ कलाकारको गठजोड फिल्म ‘मालिका’को नयाँ गीत ‘सर सर ... हावा बग्छ कता हो’मा गज्जबले जमेको छ।
फिल्ममा क्षेत्रमा ‘हिम्मतवाली’ थापाका लागि गीतमा ‘एक्काइसौं सदीकी केटी’ राउतको स्वर पहिलोपल्ट परेको हो । तर, यो गीतमा राउतको स्वर रेखाको स्वभावका लागि बनेको जस्तै सुनिएको छ भने ‘मालिका’ फिल्मका लागि रेखाको अभिनय आस्थाको आवाज अनुसार फिट छ।
निर्माण युनिटको रोजाईका हिसाबले दोस्रो गीत भएपनि फिल्मको विषय बोक्नमा यो गीतले पहिलोलाई उछिन्छ । पछिल्लो समय फिल्मको नयाँ धारतिर आफूलाई बगाइरहेकी छिन् थापा । उनमा व्यवसायिक फिल्मको ‘ह्याङओभर’ कायम रहेको प्रमाण अघिल्लो गीत ‘हल्का माया के माया’प्रतिको आकर्षणले दर्शाएको थियो । तर, नयाँ केही गर्ने भोक पनि रहेको यो गीतको आगमनपछि प्रस्ट भएको छ।
गीतमा नारीलाई निरहताबाट बाहिर आउन सिकाउने भूमिकामा थापा छिन् भने हिम्मत जुटाउँदै गरी युवतीको भूमिकामा कमला वली छिन् । यो तालमेल पनि दर्शक दृष्टिमा स्वभाविक लाग्छ । सुरेश अधिकारी शब्दसंगीतले हरेक नारीभित्र दबिएको आवाजलाई दुरुस्तै बोकेका छन्।
लाइफ कोचका रुपमा चर्चित नर कार्कीको फिल्म कथाका लागि सुहाउँदो गीत पनि सम्भवतः यस्तै हो।
गीत फिल्महलसम्म दर्शक डो¥याउने माध्यामका रुपमा लिइन्छ पछिल्लो समय । त्यस हिसावले यो गीत सफल हुन सक्छ।
नयाँ ठाउँ जाजरकोटमा छायांकन गरिएको फिल्मले नयाँ स्वाद पस्किन खोजेको यो गीतले दर्शाउँछ।
हेर्नुहोस् गीतः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।