काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी निकै कम भएको गुनासो राखेका छन्। उनीहरूले कर्मचारीको पटक पटक हुने सरुवाले कामलाई सुव्यवस्थित गर्न कठिनाइ भएको तथा पुराना भौतिक संरचनामा कार्यालय सञ्चालन हुँदा भएको असुविधाबारे जानकारी दिए। जनप्रतिनिधिको मर्यादाक्रम, भौतिक संरचना र कर्मचारीको अभावबारे पनि उनीहरूले गुनासो राखेका थिए।
स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रमको विषय पनि टड्कारो रुपमा उठेकाले नयाँ परिवेशअनुसार मिलाउनुपर्ने आवश्यकताबारे जानकारी गराइएको प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए। नयाँ जनप्रतिनिधि र नयाँ कर्मचारी भएका कारण प्रदेशका गतिविधि चुस्त र व्यवस्थित ढङ्गबाट अघि बढाउने सन्दर्भमा तालमेल मिलाउन कठिनाइ भएको हुँदा अनुभवी कर्मचारीको व्यवस्थापन र विज्ञसँगको छलफल र परामर्शलाई आगामी दिनमा घनीभूत ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता देखिएको विषय सभामुख र उपसभामुखले राष्ट्रपतिसमक्ष राखेका थिए।


उक्त अवसरमा राष्ट्रपति भण्डारीले सभामुख र उपसभामुखले उठाएका विषयवस्तुबारे सरकारलाई जानकारी गराइने बताउँदै सङ्घीयताको कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्न सुझाव दिए। नयाँ प्रणाली र नयाँ संरचनाको अभ्यास भएकाले प्रत्येक प्रदेशलाई बलियो र समृद्ध तुल्याउनका लागि भेटघाट र अनुभव साटासाट गर्न राष्ट्रपति भण्डारीले सुझाव दिएको प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले जानकारी दिए। विभिन्न कोणबाट सङ्घीयताप्रति उठाइएको भ्रम चिर्न एवं ऐन कानून निर्माणमा एकरुपता ल्याउन, प्रशासनिक र प्राविधिक पक्षलाई चुस्त तुल्याउन, दक्ष र अनुभवी कर्मचारीको व्यवस्था गर्न तथा संसद सेवालाई फराकिलो बनाउन टड्कारो आवश्यकता देखिएको विषय पनि भेटघाटका क्रममा उठेको थियो।
भेटघाटमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपसभामुख डा शिवमाया तुम्बाहाम्फे तथा सातै प्रदेशका सभामुख र उपसभामुख सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।