जाकर्ता– १८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ। सुरुवाती २ खेलमा पराजित भएपनि समूहको तेस्रो टिम पनि दोस्रो चरणमा पुग्नसक्ने भएको हुँदा नेपालको गणितीय सम्भावना मात्र बाँकी रहेको छ।
समूह चरणबाट बाहिरिने सँघारमा रहेको नेपालले समूह डीको खेलमा अाज पाकिस्तानसँग वेस्ट जाभास्थित सहिद चन्द्रभागा रंगशालामा प्रतिस्पर्धा गर्नेछ। खेल स्थानीय समयअनुसार अपरान्ह पाैने ५ बजे हुनेछ। तर नेपालका लागि यो खेलमा इतिहास बनाउने अवसर छ। किनकी नेपालले एसियाडमा खेलेका कुनै पनि खेलमा अहिलेसम्म जित हात पार्न सकेको छैन। त्यसैले समान स्तरको टिम पाकिस्तानलाई हराएर इतिहास बनाउने नेपालको लक्ष्य रहेको प्रशिक्षक बालगोपाल महर्जनले बताए।
नेपालले सुरुवाती खेलमा सन्तोषजनक खेल प्रदर्शन गरेको थियो। पहिलो खेलमा एसियन फुटबलको ‘पावर हाउस’ जापानसँग १–० गोलको झिनो अन्तरले पराजित भएको थियो। भियतनामविरुद्धको दोस्रो खेलमा पनि नेपालले सुरुवातमा राम्रो खेलेको थियो। सुरुवातमा भियतनामलाई दबावमा राखेपनि नेपाल २–० गोलले पराजित भयो।
अर्कोतर्फ समूहमा पाकिस्तानले पनि दुवै खेल गुमाइसकेको छ। पाकिस्तानले २ खेलमा गरी ७ गोल खाइसकेको छ। पाकिस्तानलाई भियतनामले ३–० र जापानले ४–० गोलले पराजित गरेको थियो।
त्यसैले समूहमा सबैभन्दा कमजोर देखिएको पाकिस्तानलाई नेपालले हराउने सम्भावना छ। हराउन सके नेपालले एसियाली खेलकुदमा इतिहास बनाउनेछ।
नेपालले एसियाली खेलकुदमा हालसम्म खेलेका सबै १७ खेलमा नै पराजय भोगेको छ। १७ खेलमा ६८ गोल खाँदा नेपालले केवल १ गोल गर्न सकेको छ।
नेपालले सन् १९८२ को एसियाली खेलकुदमा पहिलोपटक फुटबलमा प्रतिस्पर्धा गरेको थियो। भारतको नयाँ दिल्लीमा भएको प्रतिस्पर्धामा नेपालले समूह चरणका तीनै खेलमा हार बेहोरेको थियो।
पहिलो खेलमा कुवेतविरुद्ध गोल गर्दै वाइबी घलेले इतिहास बनाएका थिए। उनले दोस्रो हाफमा गरेको गोल नेपालको लागि पहिलो औपचारिक अन्तर्रा्ष्ट्रिय गोल हो। त्यो गोल गरेपछि नेपालले अहिलेसम्म एसियन गेम्समा गोल गर्न सकेको छैन। ३६ वर्षसम्म नेपालले एसियन गेम्समा दोस्रो गोल मात्र होइन बराबरी समेत खेल्न सकेको छैन।
त्यसकारण आइतबार हुने पाकिस्तानविरुद्धको खेल नेपाली फुटबलको लागि नयाँ रेकर्ड बनाउने महत्वपूर्ण अवसर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।