जकार्ता– शनिबारदेखि इन्डोनेसियाको राजधानी जाकार्तामा १८औं एसियाली खेलकुद(एसियाड) सुरु हुँदैछ। इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्वाङ सहरमा हुने प्रतियोगितामा एसियाका नेपालसहित ४५ देशका खेलाडीहरुले ४० खेलका ४ सय ६५ इभेन्टमा प्रतिस्पर्धा गर्दैछन्।
इन्डोनेसियाको जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा हुने उद्घाटन सत्रमा विभिन्न देशका राष्ट्रप्रमुख, खेलकुद पदाधिकारी, खेलाडी तथा दर्शकको उपस्थिती रहने छ। उद्घाटन सत्रमा हुने मार्चपासमा नेपालका तर्फबाट भारोत्तोलन खेलाडी कमल बहादुर अधिकारीले नेपालको झन्डा बोक्नेछन्।
एसियाली खेलकुदको सबै तयारी पुरा भएको इन्डोनेसिया सरकारले जनाएको छ। एसियाली खेलकुदका लागि रंगशाला निर्माणदेखि विभिन्न सार्वजनिक स्थानहरुको सरसफाइ, रंगरोगन, खेल हेर्न आउने दर्शक तथा पाहुनाहरुका लागि आवश्यक पर्ने होटल तथा सवारीलगायत सबैको व्यवस्था मिलाइएको छ।

प्रतियोगिता आगामी सेप्टेम्बर २ सम्म चल्नेछ।
यसैबीच एसियाली खेलकुदका लागि नेपाली टोली पनि इन्डोनेसिया पुगिसकेको छ। एसियाडमा नेपालको तर्फबाट विभिन्न २९ खेलका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन्। जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन्।
नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ।

एनेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउदै छ । यी खेल मध्ये लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्ड पालेम्वाङमा हुनेछ भने बाँकी जकार्तामा हुनेछ।
एसियाडमा नेपालले सहभागिता जनाउन लागेको हालसम्मकै सर्वाधिक २९ खेल मध्ये १९ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। परिषद्ले तयारी लामो र राम्रो भएकाले पदक आउने दाबी गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टका अनुसार मार्सल आर्ट्सका खेलसहित प्याराग्लाइडिङ र स्पोर्ट्स क्लाइबिङबाट पदकको आसा गरिएको बताए।

दुई संस्करण बाहेक सबै एसियाडमा सहभागिता जनाएको नेपालले हालसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ। नेपालले १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोश्रो संस्करण र १९६२ मा इन्डोनेसियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन। नेपालले हालसम्म तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कांस्य जितेको छ। १९८६ को सिओल एसियाड नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।