काठमाडौं- बुधबार अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। हरेक वर्षको ८ मार्चमा मनाइने यो दिवसको इतिहास ११५ वर्ष पुरानो हो।
अन्तर्राष्ट्रिय महिला दिवस महिला मजदुरको आन्दोलनबाट स्थापित भएको हो। पछि संयुक्त राष्ट्र संघले यसलाई प्रत्येक वर्ष दिवसका रुपमा मनाउने मान्यता दियो।
आजको दिनलाई खास बनाउने कार्यको सुरुवात सन् १९०८ मा भएको हो। त्यो बेला करिब १५ हजार महिलाले न्युयोर्क सहरमा एउटा र्याली निकालेका थिए। उनीहरुको माग थियो- महिलालाई काम गर्ने घन्टा (ड्युटी आवर) कम गरियोस्। तलब पुरुष सरह बनाइयोस् र मतदानको अधिकार पाइयोस्।
एक वर्षपछि अमेरिकी सोसलिस्ट पार्टीले पहिलो महिला दिवस मनाउने घोषणा गर्यो। यसलाई अन्तर्राष्ट्रियकरण गर्ने उपाय भने सबैभन्दा पहिले क्लारा जेटलिन नामकी एक महिलाले सुझाएकी थिइन्।
क्लारा एक वामपन्थी कार्यकर्ता थिइन्। उनी महिलाको हकका लागि आवाज उठाउँथिन्। उनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेनमा कामकाजी महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा दिएकी थिइन्।
उक्त सम्मेलनमा १७ देशका १०० महिला सामेल थिए। क्लाराको उक्त प्रस्तावमा उनीहरु एकमत भए। पहिलो अन्तर्राष्ट्रिय महिला दिवस सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्ड मनाइयो। यसको शताब्दी समारोह सन् २०११ मा मनाइयो। त्यसैले यसपल्टको नारी दिवस ११३औं मानिन्छ।
अन्तर्राष्ट्रिय महिला दिवसको औपचारिक मान्यता सन् १९७५ को त्यो समयमा मिल्यो, जब संयुक्त राष्ट्र संघले पनि मनाउ सुरु गर्यो। संयुक्त राष्ट्र संघले सन् १९९६ मा नारी दिवसको थिम बनाएको थियो- बितेको समयको उत्सव मनाउने र भविष्यको योजना बनाउने।
जब क्लारा जेटकिनले अन्तरराष्ट्रिय महिला दिवस मनाउनुपर्ने प्रस्ताव गरिन्, उनले खास दिन तोकेकी थिइनन्। सन् १९१७ मा आएर रुसमा महिलाहरुले खाना र शान्तिको माग गर्दै आन्दोलन गरे। यही आन्दोलन बढ्दै जाँदा जार निकोलस द्वितीयले राजकाज छाड्नुपर्यो। त्यसपछि बनेको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार सुनिश्चित गरिदियो।
नेपाल लगायत धेरै देशमा महिला दिवसको दिन बिदा दिने प्रचलन छ। चीनमा आधा दिन मात्रै छुट्टि दिने प्रचलन छ। इटलीमा महिलाहरुलाई ८ मार्चमा मिमोसा फूल दिने चलन छ। यसको सुरुवात दोस्रो विश्वयुद्धपछि रोमबाट सुरु भएको मानिन्छ।
अमेरिकामा मार्चलाई महिलाको महिनाका रुपमा लिइन्छ। हरेक वर्ष राष्ट्रपतिका तर्फबाट एक घोषणा गरिन्छ- जहाँ अमिरकी महिलाको उपलब्धिबारे बयान गरिएको हुन्छ।
सन् २०२३ को अन्तर्राष्ट्रिय महिला दिवसका लागि संयुक्त राष्ट्र संघले एउटा थिम तय गरेको छ। त्यो हो- डिजटअल: लैंगिक समानतताका लागि खोज र प्रविधि।
यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा लैंगिक असमानताका विषयमा डिजिटल असरका विषयमा समेत रिसर्च गर्ने भनिएको छ। किनकि, संयुक्त राष्ट्र संघको आकलन छ- अनलाइन दुनियाँमा महिलाको पहुँचमा रहेको कमीलाई हटाइएन भने मध्यम आय भएका देशका घरेलु उत्पादनमा १.५ खरब डलर हानि हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।