जाकर्ता- एसियाली खेलकुद (एसियाड) अन्तर्गत प्याराग्लाइडिङमा भारत र फिलिपिन्सले भाग नलिने भएका छन्। अब नेपालसहित १८ देसबीच मात्र प्रतिस्पर्धा गर्ने भएको छ।
एन्डोनेसियाको एइरो स्पोर्ट महासंघका अनुसार दुवै देशका ओलम्पिक कमिटिले आफ्ना देशका प्रतिस्पर्धीलाई खेल्न अनुमति नदिएको हो।
'भारत र फिलिपिन्सले एसियाली खेलकुदको प्याराग्लाइडिङ नखेल्ने भएका छन्। दुवै देशका ओलम्पिक कमिटीले आफ्ना देशका प्रतिस्पर्धीको सहभागीता डिसएप्रुभ गरेका हुन्, ' महासंघका प्रवक्त टागोर सिआगोआनले भनेका छन्।
प्याराग्लाइडिङ वेस्ट जाभाको पुन्काकस्थित बोगोर रिजेन्सीमा सोमबारबाट हुँदैछ। जहाँ ६ स्वर्णका लागि एक्युरेसी र क्रस कन्ट्रीमा प्रतिस्पर्धा हुनेछ।
अब प्याराग्लाइडिङमा अफगानिस्तान, चीन, कुवेत, इन्डोनेसिया, हङकङ, इरान, जापान, दक्षिण कोरिया, मलेसिया, थाइल्यान्ड, लाओस, मंगोलिया, नेपाल, पाकिस्तान, सिंगापुर, ताइपेइ, कतार र साउदी अरेबियाले प्रतिस्पर्धा गर्दैछन्।
भारतका खेलाडी विजय सोनीले गत शनिबार भाग नलिने बताएका थिए। सोनी क्रस कन्ट्रीमा नेपाल भन्दा राम्रा प्रतिस्पर्धी मानिन्छन्।
प्याराग्लाइडिङमा जापान र कोरियासहित नेपाललाई पनि बलियो प्रतिस्पर्धा मानिएको छ। त्यसैले नेपालले प्याराग्लाइडिङबाट पदक जित्ने आसा गरेको छ। प्याराग्लिङडिङमा नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।
नेपालले क्रस कन्ट्रीको टिम इभेन्ट्समा पदक हात पार्ने सम्भावना छ। टिम इभेन्ट्मा नेपाल भन्दा अगाडि जापान र कोरियामात्र रहेकोले नेपालको पदक सम्भावना भएको हो।
नेपालबाट ५ पुरुष र ३ महिला खेलाडी गरि ८ खेलाडीले प्याराग्लाइडिङमा प्रतिस्पर्धा गर्दैछन्। एसियाडमा प्रतिस्पर्धा गर्ने खेलाडीमा विमल अधिकारी (टिम कप्तान) विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ र विजय गौतम छन्। यस्तै महिला त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन्।
नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी र टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।