राजविराज– शनिबार र आइतबार रातिको वर्षाका कारण वलान खोलामा आएको बाढीले सप्तरीको वलान विहुल गाउँपालिकाको वेलही गाउँ उच्च जोखिममा परेको छ।
सप्तरी र सिरहाको सिमाना भएर बग्ने वलान खोलाले वलान विहुल गाउँपालिका वडा नम्बर ४ मा कटान गर्न थालेपछि करिब ५०/६० परिवार बसोबास गरेको वलही गाउँ उच्च जोखिममा परेको हो।
खोलाले करिब १ विघा जति जमिन कटान गरिसकेको र थप क्षति हुनेक्रम जारी रहेकाले आफुहरु समस्यामा परेको स्थानीय कृष्णदेव यादवले बताए। बाढीले जमिन निरन्तर कटान गरिरहेको र बस्ती नै संकटमा पर्दा पनि नियन्त्रणका लागि कतैबाट प्रयास नभएको उनले गुनासो गरे।
वडा अध्यक्ष मोहम्मद हन्सुले बाढीले जमिन कटान गरिरहेकाले वर्षा जारी रहे गाउँ बगाउन सक्ने खतरा बढेको बताए। उनलका अनुसार हरेक वर्ष खोलाले जमिन कटान गर्न थालेपछि बाँध निर्माण गरेर वलानको बाढी नियन्त्रण गरिएको थियो। ‘तर, २/३ वर्षअघिको बाढीले बाँध भत्काएपछि हरेक वर्ष गाउँ जोखिममा पर्ने गरेको छ।’, उनले भने।
वलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले खोलाले जमिन कटान गर्दै गाउँ नै संकटमा पर्ने अवस्था आएपछि आफूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सम्वन्धित निकायमा नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरिसकेको बताए। गाउँपालिकाले पनि आफ्नो क्षमता अनुसार बाढी नियन्त्रणको प्रयास गरिरहेको उनको दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।