काठमाडौं– सरकारले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)को सोमबार बसेको बैठकले थप ९५ वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो। प्रविणता प्रमाणपत्रसम्मको अध्ययन हुने गरी प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्न थप ९५ वटा सामुदायिक विद्यालयलाई पनि अनुमति दिने निर्णय गरिएको सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिए। सरकारले यसअघि २ सय १७ वटा सामूदायिक विद्यालयलाई प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने अनुमति दिइसकेको छ।
सदस्य सचिव वाग्लेले काठमाडांैमा पत्रकार सम्मेलन गरी ८ वटा आंगिक बहुप्राविधिक शिक्षालयहरुलाई पनि पूर्वाधारको विकास गरी कार्यक्रम विस्तार गर्न अनुमति दिइएको जानकारी दिए।
सिटिइभिटीले साझेदार संस्थाहरुलाई पशुविज्ञानतर्फको ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गर्न पनि अनुमति दिएको छ। त्यसैगरी सिटिइभीटीले ओखलढुंगा सामुदायिक अस्पतालमा ३ वर्षे नर्सिङ विषय सञ्चालन गर्न आवश्यक पूर्वाधार निरीक्षण गर्न कार्यदल पनि गठन गरेको छ। कार्यदलले निरीक्षण गरेर सकारात्मक प्रतिवेदन दिएको अवस्थामा सो अस्पतालमा ३ वर्षे डिप्लोमा नर्सिङ विषय सञ्चालन हुने पनि सदस्य सचिव वाग्लेले बताए।
सिटिइभिटीले २ वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने प्रधानमन्त्री केपी ओलीको घोषणा अनुसार तयारीको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारेको छ। सदस्य सचिव वाग्लेले सबै प्रदेशमा आवश्यकताअनुसार प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीको कामलाई पनि अघि बढाइएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।