काठमाडौं– गत मंसिरसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चितिले ८.७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा जनाइएको छ।
चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार गत मंसिर महिनासम्मको विदेशी मुद्रा सञ्चितिले वस्तु आयात १० महिनाको धान्न सक्छ भने वस्तु र सेवा दुवैको आयात ८.७ महिनाको धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले चालु आवमा न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी मुद्रा सञ्चित कायम गर्ने लक्ष्य लिएको थियो। पछिल्लो समय विदेशी रेमिटेन्स बढेसँगै विदशी मुद्रा सञ्चिति बढेको छ भने आयात घटेको छ। यसरी मुलुकमा रहेको सञ्चित विदेशी मुद्राले धान्ने आयातको अवस्थामा सुधार देखिएको हो।
राष्ट्र बैंकका अनुसार हाल ९ अर्ब ४२ करोड अमेरिकी डलर बराबर अर्थात १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ। असार मसान्तसम्मको तुलनामा मंसिर मसान्तसम्म आउँदा सञ्चिति नेपाली रुपैयाँमा ६.३ प्रतिशतले र अमेरिकी डलरमा भने ३ प्रतिशतले बढेको बैंकले जनाएको छ।
सरकारले यसअघि विदेशी मुद्रा सञ्चिति घटेपछि गत मंसिर मसान्तसम्मका लागि निजी चार पांग्रे सवारी साधन, तयारी विदेशी मदिरा, १५० सीसी माथिका मोटरसाइकल र ३ सय डलर माथिका स्मार्टफोन आयातमा मंसिर मसान्तसम्म प्रतिबन्ध लगाएको थियो। राष्ट्र बैंकले पनि करिब १६ सय वस्तुको आयातका लागि प्रतितपत्र खोल्दा नगद मार्जिनको व्यवस्था गरेको थियो। अहिले त्यो सबै व्यवस्था खारेज भएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ०७९ असारसम्म १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा ०७९ मंसिर मसान्तमा ७.८ प्रतिशतले बढेर ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा ०७९ मंसिर मसान्तमा ३.८ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ।
गत मंसिरसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।