काठमाडौं– माघ १ गते माघे संक्रान्तिको दिन आइतबार पोखरामा ठूलो मानवीय क्षति हुनेगरी यती एअरलाइन्सको विमान दुर्घटना भयो। काठमाडौंबाट पोखराका लागि उडेको एन–एएनसी विमानमा चालक दलका ४ जना, १५ विदेशीसहित ७२ जनाले दुर्घटनामा अकालमै ज्यान गुमाए।
विमान दुर्घटनापछि छिमेकी मुलुक भारत, चीनलगायत विश्वभरबाट सान्त्वना संदेश आइरहेको छ। पोखरामा भएको विमान दुर्घटनापछि कास्की–२ बाट प्रतिनिधि सभाकी सदस्य विद्या भट्टराईले मृतकका आफन्तलाई भेटेर सान्त्वना दिएकी छन्। भट्टराई आफैं पनि हवाई दुर्घटनाबाट पीडित परिवारकी सदस्य हुन्। झन्डै ४ वर्ष पहिले उनका पति तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमंत्री रवीन्द्र अधिकारीको तेह्रथुम जिल्लामा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। सांसद भट्टराईसँग हवाई सुरक्षा, विमान दुर्घटना न्यूनीकरण गर्न राज्यले के गर्नुपर्ला? लगायतका विषयमा नेपाल लाइभका भूपेन्द्र शाहठकुरीले गरेको संक्षिप्त कुराकानी
दुर्घटनाका पीडित परिवारहरुलाई भेटेरे के–के भन्नुभयो?
दुर्घटना मेरै निर्वाचन क्षेत्रमा भएको थियो। यो दुखद् दुर्घटनामा मेरो चिनजानका मान्छेहरु नै पर्नुभयो। मैले पीडित परिवारलाई दुर्घटनाकै दिन पनि भेटेँ। सोमबार पनि भेटेँ। उहाँहरु रुपाकोटको भए पनि ४ नम्बरमै बस्नुहुन्थ्यो। डा सुशील श्रेष्ठ, उहाँको पनि घर–परिवार नै दुर्घटनामा पर्यो।
उहाँको बाबा मदनकाजी श्रेष्ठ, आमा, दिदी बहिनीहरुसँग भेटेर सान्त्वना दिएँ। त्यसैगरी प्रतिभाको परिवारसँग पनि भेटेँ। तर पत्रकार त्रिभुवन पौडेलको परिवारसँग बोल्न सकिरहेको छैन। ती परिवारलाई भेटेपछि म चाहिँ अलिक विक्षिप्त भएँ। त्यसैले एकैपटक जान सकिरहेको छैन। समय मिलाएर जान्छु।
बेला–बेला नेपालमा हवाई दुर्घटना भइरहन्छन्, त्यसलाई सुरक्षित बनाउन के गर्नुपर्ला?
हामीकहाँ दुर्घटना हुन्छन्। दुर्घटना भएपछि त्यो दिन हामी निकै चिन्तित पनि हुन्छौं। भावुक बन्छौं। त्यसपछि यसो गर्नुपर्छ भनेर सबै क्षेत्रबाट सुझाव पनि आउँछ। त्यसलाई कार्यान्वयन गर्ने कुरामा जुन खालको संवेदनशीलता र त्यसप्रति जुन गम्भीरता हुनु पर्थ्यो, त्यो हुन सकिरहेको छैन।
पहिलो कुरा त यो हवाई दुर्घटनाको कुरा मात्रै होइन। सडक दुर्घटना पनि प्रशस्त भइरहेका छन्। दुर्घटनाका बारेमा हामी जति चिन्ता जाहेर गर्छौं, त्यति व्यवहारमा परिणत गर्ने कुरामा कमजोर छौं भन्ने लाग्छ मलाई।
दोस्रो कुरा हामीले विमानस्थल निर्माणको कुरालाई राजनीतिक विषय बनाएका छौं। यो दुर्घटना किन हुन्छ? के कारणले हुन्छ? त्यसबारे राजनीतिक निर्णय के गर्ने भन्ने बारेमा हाम्रो ध्यान कम जान्छ। दुर्घटनापछि प्रतिवेदन सार्वजनिक हुन्छन्। विगतमा पनि भइराखेकै छन् नि त हैन? कहिले को, कहिले को दुर्घटनामा परिरहेकै छन्। हिजो भएको दुर्घटना आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो दुर्घटना हो। दुर्घटनाबारे हालसम्म मानवीय कमजोरी वा पाइलटको कमजोरी भन्ने हिसाबले मात्रै आइराखेको छ।
त्यसका लागि विमान कति समयसम्म चलाउने? दुर्घटना भइसकेपछि तत्काल क्षतिपूर्तिका कुराहरु, परिवारले पाउनुपर्ने कुराहरु गरिरहेका छौं। त्यो सँगसँगै दुर्घटना हुन नदिनका लागि सरकारले गर्नुपर्ने कुरा के हो? नागरिक उड्ड्यन मन्त्रालयले गर्नुपर्ने के हो? त्यसका लागि हामीले ध्यान दिनुपर्ने कुरा के हुन्? भन्ने विषयमा कमै बहस हुन्छन्। यो बहस सँगसँगै सरकारको यो क्षेत्रमा काम गर्ने प्रमुख निकाय छ। त्यो निकाय र मन्त्रालयले बढी ध्यान दिनुपर्छ भन्ने लाग्छ।
पटक–पटकका दुर्घटनापछि छानबिन समितिहरु पनि बन्छन्, उनीहरुले प्रतिवेदन पनि बुझाउँछन्। तर कार्यान्वयन किन हुँदैनन्?
यस विषयमा घटनापश्चात बनेका छानबिन समितिहरुबाट प्रतिवेदन तयार हुन्छन्। ती प्रतिवेदनहरुमा के भयो भनेर बाहिर सार्वजनिक रुपमा जानकारी पनि गरेको देखिँदैन। अर्को कुरा सम्बन्धित निकायले त्यसलाई मनन गरेर अगाडि बढ्ने कुरामा पनि कमजोरी छ। अब चाहिँ हामीले के गर्नुपर्छ भने, साँच्चिकै हाम्रो समस्या के हो? के कारणले दुर्घटना हुन्छन्? भूगोल हो कि? हाम्रो भौगोलिक बनोटले दुर्घटना भइरहेको छ कि? हाम्रो आकाश हो कि? हामीसँग भएका विमानहरु असुरक्षित खालका हुन या प्राविधिक त्रुटि के हुन् भन्नेबारेमा स्पष्ट प्रतिवेदन आउनुपर्यो।
त्यो प्रतिवेदनलाई सम्बन्धित तहले, निकाय र सरकारले मनन गर्दै अगाडि बढ्नुपर्छ। साथै त्यो अनुसारका योजना बनाएर जानुपर्छ। यसतर्फ ध्यान कम गएकै कारणले पनि दुर्घटना हुने गरेका छन्।
तपाईं विमान दुर्घटनाको पीडित परिवारको सदस्य पनि हुनुहुन्छ। हाल सत्तारुढ दलको सांसद पनि भएको नाताले हवाई सुरक्षाबारे तपाईंको सुझाव के छ?
हवाई सुरक्षाको विषयमा अहिले पनि आइरहेको कुरा भनेको विमान कति समय उड्यो? कति समयसम्म जहाज चल्यो? प्राविधिक हिसाबले त्यो ठिक छ कि छैन? भन्ने मापन गर्ने कुरामा पनि कमजोरी देखिन्छ। यो कुराको पनि मापन गर्न सुरु गर्नुपर्यो। सरकारले केही निर्देशन पनि दिएको छ। ती निर्देशनहरुलाई पनि पालना गरेर अघि जानुपर्यो। यी अल्पकालीन कुरा भए।
दीर्घकालीन हिसाबमा मलाई के लाग्छ भन्दा हामीसँग रहेका हवाई सेवा क्षेत्रसँग जोडिएका जति पनि निकायहरु छन्। जुन ढंगले दक्ष बनाएर लैजाने कुराहरुमा र हामीले जहाज खरिद गर्ने कुरादेखि लिएर जहाजलाई कसरी राम्रो बनाउने भन्ने कुरामा प्रभावकारी नियमन हुनुपर्ने हो, त्यसमै हाम्रो कमजोरी छ। यो नसच्चिँदासम्म सुधार हुन सक्दैन।
आजसम्म सुरक्षित यात्राको क्षेत्र भनेको हवाई क्षेत्र हो भनेर संसारभरी भनिएको छ। हाम्रोमा त्यो सेवा असुरक्षित बन्दै गयो भने यसले दुर्घटना मात्रै होइन, मान्छेको जीवनमा नै असुरक्षा निर्माण गर्छ। यसका लागि सरकारले ध्यान दिएर अगाडि बढ्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।