भक्तपुर- एक महिने गुँला पर्व आइतबारदेखि सुरु भएको छ। नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ।
गुँला पर्वको अवसरमा विशेषगरी ९ बाजा बजाउने प्रचलन रहेको छ। गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन्। बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन्।
गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो। यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ। पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ। जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरव लगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ। बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।