कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा स्थानीय युवाले पकेट खर्च जोगाई एलइडी टेलिभिजन जडान गरेका छन्।
सेवा केन्द्रमा बस्दै आएका वृद्धवृद्धाका लागि टेलिभिजन जडान गरिएको हो। टेलिभिजनमा आउने धार्मिक र प्रवचन कार्यक्रम हेर्न सहज होस् भनेर ‘पकेट मनी’ जोगाई टेलिभिजन खरिद गरी जडान गरिएको हरिश सेटीले बताए।
बेदकोट नपा र भीमदत्त नगरपालिकामा बस्दै आएका युवाले ३२ इञ्चको टेलिभिजन खरिद गरेर जडान गरेपछि केन्द्रमा बस्दै आएका वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन्। टेलिभिजन प्रदान गर्नेमा बेदकोट नगरपालिकाका हरिश सेटी, टिआर पाण्डेय, जयप्रसाद भट्ट, मुकुन्द चटौत, प्रकाश साउद, शिवराज पाण्डेय, प्रकाशकुमार पाण्डेय, दीपक आले र भीमदत्त नगरपालिकाका वसन्त पनेरु र रमेश बुढा छन्।
टेलिभिजनसँगै युवाले सेवा केन्द्रमा बस्दै आएका वृद्धवृद्धालाई भरपेट दही, खीर र जेरीसमेत खुवाएका छन्। सेवा केन्द्रमा आश्रयविहीन १६ जना वृद्धवृद्धा बस्दै आएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।