भैरहवा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सा पास सम्बन्धी सेवा वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ। प्राविधिक टोली खटाएर नगरपालिकाले वडा कार्यालयमा नक्सा पास अभियान सञ्चालन गरेको हो।
वडा नं १४ बाट सुरु गरिएको यो अभियान सबै वडा कार्यालयमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। नगरबासीको सुविधाका लागि पुराना घरको नक्सा पास सम्बन्धी सेवा अभियान सञ्चालन अवधिभर वडा कार्यालयबाटैं प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले बताए।
साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलिगढ गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा नक्सा पासको प्रक्रियामा झण्डै ५ हजार घरहरु रहेको नगरपालिकाले निकालेको तथ्याङकमा उल्लेख गरिएको छ। प्रक्रियामा रहेका यिनै घरहरुको नक्सा पास सम्बन्धी कार्य वडा कार्यालयबाट हुने भएको हो। नगरपालिकाले २०७० सालभन्दा अघि बनेका घरहरुको नक्सा पासका लागि गत चैत महिनासम्म छुट सुविधा दिएको थियो।
नगरपालिकाले सञ्चालन गरेको अभियानबाट विगतमा घर बनाए पनि नक्सा पास नगरेका वा घर बनाएर सम्पन्नताको प्रमाण पत्र नलिएका तर प्रक्रियामा रहेका नगरबासीहरु लाभान्वित हुनेछन्। नगर प्रमुख बासुदेव घिमिरेले वडा नं. १४ की कल्पनीदेवी थारु, शिवप्रसाद थारु र बेचुप्रसाद थारुलाई घर सम्पन्नताको प्रमाणपत्र दिएर सुरु गरेको यो अभियान वडा नं १३ मा लगत्तै सञ्चालन हुनेछ।
नगर प्रवक्ता सुरेन्द्र श्रीकाअनुसार बिहीबार र शुक्रबार बाहेक अन्य दिनमा नगरपालिकाको प्राविधिक टोलीले अभियान नसकिँदा सम्म सम्बन्धित वडामा नै रहेर सेवा प्रवाह गर्नेछ।
१४ नम्वर वडा अध्यक्ष सोहनप्रसाद थारुले घर नक्साको काम वडाबाट हुँदा सेवाग्राहीलाई धेरै राहत मिलेको बताए। यञ्जिनियर मनिष खनालले यो अभियानबाट प्रक्रियामा रहेका झन्डै ८० प्रतिशत घरको नक्सा पास सम्पन्न हुने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।