काठमाडौैं– केही समयअघि बाटोमाथि रुखमा छलिएर सवारी 'ढुकिरहेका' एक ट्राफिक प्रहरीको तस्बिर भाइरल भयो। धेरैले चिट काट्न ट्राफिक प्रहरी बाटोमा लुकेर बस्छन् भन्ने आरोप समेत लगाए। कतिपय अवस्था यस्तो प्रवृत्ति नयाँ भने होइन।
तर, बलम्बु क्षेत्रका चालकहरु बिहीबार चकित भए।
नियम मिचेकोमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा त लियो तर चिट काटेन। ट्राफिक नियम मिचेर गल्ती गरेको भन्दै आत्मसात गराउन लगाई उनीहरुलाई छाडियो।
महानगरीय प्रहरी प्रभाग बलम्बुले ट्राफिक नियम पालनाको महत्वबारे बुझाउन बिहीबारदेखि यस्तो अभियान सुरु गरेपछि चालकहरु दंग छन्।
‘ट्राफिक नियमको पालन प्रहरीको आँखा छल्न मात्र होइन’ भन्ने नाराका साथ यस्तो अभियान सुरु गरिएको छ।
‘खासगरी भित्री सडकहरुमा हामीले यो अभियान चलाएका हौं,’ महानगरीय प्रहरी प्रभाग बलम्बुकी प्रहरी निरीक्षक शर्मिला गुरुङ भन्छिन्, ‘भित्री सडकहरुमा चलाउँदा ट्राफिक प्रहरी बस्दैन भनेर नियम मिच्ने प्रवृत्ति छ, नियम मान्ने भनेको प्रहरीको आँखा छल्न होइन, सुरक्षाका लागि हो भन्ने आत्मसात गराउन यस्तो अभियान थालेका हौं।’
अभियान एक सातासम्म चल्ने प्रहरीले जनाएको छ।
अभियान अन्तर्गत नियम नमान्ने चालकलाई नियन्त्रणमा लिई ब्यानरमा हस्ताक्षर गर्न लगाइन्छ। प्रहरीले ट्राफिक नियम पालना गर्ने भनेर हस्ताक्षर गर्न लगाई अबदेखि नियम नमिच्ने प्रतिबद्धता जनाएर छोड्ने गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।