काठमाडौं– यू–१९ राष्ट्रिय क्रिकेट टिममा खेलाडी छनोट गर्न 'ओपन ट्रायल' हुने भएको छ। यू–१९ टिमका प्रशिक्षक विनोदकुमार दासले सात प्रदेश र 'ओपन ट्रायल' बाट खेलाडी छनोट हुने जानकारी दिए।
७ प्रदेश र 'ओपन ट्रायल' साउन २८, २९ र ३० गते संचालन हुनेछ। ७ प्रदेशबाट ३–३ जना गरी २१ खेलाडी छनोट हुनेछन्। यस्तै यू–१६ राष्ट्रिय टिमका १४ खेलाडी भने यू–१९ टिममा स्वत: पर्नेछन्। यस्तै काठमाडौंमा हुने 'ओपन ट्रायल' बाट ९ खेलाडी छनोट हुनेछन्।
यसरी छनोट भएका ४४ खेलाडी पहिलो चरणको छनोटमा छानिनेछन्। ४४ मध्ये १२ खेलाडी मात्र प्रारम्भिक टिममा पर्नेछन्। किनकी यू–१९ टिमका ७ खेलाडीले प्रारम्भिक टिममा स्वत: स्थान पाएका छन्।
पहिलो चरणको ट्रायल
७ प्रदेशबाट ३–३ जना – २१ जना
यू–१६ टिमबाट – १४ जना
'ओपन ट्रायल'बाट – ९ जना
जम्मा –४४ जना
प्रारम्भिक टिम
ट्रायलमा परेका ४४ बाट – १२ जना
यू–१९ टिमका – ७ जना
जम्मा – १९ जना
अन्तिम टिम – १५ जना
प्रशिक्षक विनोद दासले ओपन ट्रायलबारे दिएको जानकारी :

आगामी भदौ अन्तिम साता भारतमा एकदिवसीय सिरिज खेल्नका लागि खेलाडी छनोट गर्न लागिएको हो। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो। आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू १९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुनेछ।
खेल तालिकाअनुसार भदौ २७ गते इडेन गार्डेन्स कोलकातामा भारतविरुद्ध अफगानिस्तानले खेल्नेछ। सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध नेपालले खेल्नेछ।त्यसैगरी भदौ २९ गते इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल, सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध अफगानिस्तान, भदौ ३१ गते इडेन गार्डेन्समा भारतविरुद्ध एनसिए, सोही दिन जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछन्। असोज २ गते इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टोलीबीच फाइनल र सोही दिन जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टोलीबीच प्लेअफ खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।