भक्तपुर– प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व बिहीबार भक्तपुरमा पृथक शैलीमा मनाइएको छ।
विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहीबार साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्याई जलाएर पर्व मनाइएको हो।
भक्तपुरको भेलुखेल, दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा छ। निगालोको चोयाबाट पूर्ण राक्षसरुपी गठामङ्गल बनाई बाहिर कपडाले मोडेर विभिन्न रंग लगाई राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर विसर्जन गरिएको छ। यो प्रकारको राक्षसरुपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानीय बाबुरत्न द्यौलाले बताए।
भक्तपुरका इतिहासविद् एवम् संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेसँग जोडिएको बताउँछन्। उनले महादेवलाई मन पराउने राक्षसको रुपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको जानकारी दिए।
यस दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने, रोपाइँ सकेर रमाइलो गर्ने, चाडवाड सुरु हुने दिनका रुपमा पनि मानिने श्रेष्ठले बताए। चतुर्दशीका दिन केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ।
गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास समेत रहेको छ।
भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ। राक्षसरुपी गठामङ्गललाई शरीरको रुप दिएर परालबाट लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर अश्लिल गीतहरु गाउँदै चोक–चोकबाट निकालेर दोबाटो–चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परासमेत रहेको छ।
राँको बालेर भूत भगाउने भन्दै पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याइन्छ। अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ। यस दिनमा परम्परादेखि नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।