राजविराज– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई बिहीबार शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ।
तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चोक (जिरीया हटिया)मा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो।
पाँचदेखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको हो।
सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले विद्यालयलाई दिइने खाजाभत्ता अब विद्यार्थीको आमाको नाममा बैंकमा खाता खोलेर दिनुपर्ने उल्लेख गगरे। उनले विद्यार्थीको नाममा दिइने खाजाभत्ता अन्य अभिभावकले खर्च गर्नसक्ने भएकाले आमाको नाममा दिनुपर्ने तर्क गरे।
विद्यालयमा दिने खाजाभात्तामा समेत भ्रष्टाचार हुन थालेको गुनासो आइरहेको बताउँदै उनले आमाको नाममा खाता खोलेर खाजाभात्ता उपलब्ध गराउन सक्यौं भने भ्रष्टाचार कम हुने विश्वास व्यक्त गरे।
तिलाठी कोइलाडी गाउँपालिकामा ५ देखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका ५ हजार ९ सय ५१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको शिक्षा विकास समन्वय एकाइका अध्यक्ष शंकरराज लुइँटेलले जानकारी दिए।
भर्ना भएका बालबालिकामध्ये निजी विद्यालयतर्फ २ हजार २ सय ७३ र सामुदायिक विद्यालयतर्फ ३ हजार ६ सय ७८ रहेको उनले बताए।
कार्यक्रममा मन्त्री साहले तिल्लाठी कोइलाडी गाउँपालिकास्थित कोइलाडी चोकमा गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि १० लाख रुपैयाँ दिने घोषणा गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।