काठमाडौं– ११ बर्षिय निशान खड्काको अपहरणपछि भएको हत्या र अपहरणकारीको ‘इन्काउन्टर’ घटनाको चर्चा अझै सेलाएको छैन। यही बेला महानगरीय प्रहरी कार्यालय रानीपोखरीको हटलाइन १०० मा बिहीबार एक व्यक्तिले फोन गर्दै भने,‘सर मेरा छोरा अपहरणमा परे।’
ललितपुरको पाटनबाट ४१ वर्षिय राकेश बिष्ट नामक व्यक्तिले प्रहरीमा यो उजुरी टिपाएका थिए। गम्भीर घटनाको अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखा लगायत निकायका प्रहरी अधिकारीहरु तत्कालै अनुसन्धानमा खटिए।
सुरुमा प्रहरी बिष्टको घर खोज्दै गयो। त्यहाँ पुग्दा विष्ट कुनै चिन्तामा थिएनन्। बरु हाँसिरहेका थिए। छोरा अपहरणमा परेको व्यक्ति हासेको देखेर प्रहरी अधिकारी चकित भए।
प्रहरीले सोधपुछ गर्दा उनले आफुले रमाइलोका लागि मात्र प्रहरीमा यस्तो उजुरी दिएको बताए।
मदिराको नशामा उनले आफ्नै छोराको अपहरण गरेको भनेर प्रहरीसँग ‘भद्दा मजाक’ गरेका थिए।
‘खासमा उनी मदिरमा मात्तिएर प्रहरीलाई गलत सूचना दिएका रहेछन्,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह भन्छन्,‘हामीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएका छौं।’
विष्ट पाटनमा खुद्रा पसल सञ्चालन गर्दै आएका व्यक्ति हुन्। पक्राउ परेपछि उनले आफुबाट गल्ती भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।