काठमाडौं– सर्वोच्च अदालतले आगामी भदौ १ गतेदेखि लागू हुने मुुलुकी अपराध ऐन, मुलुकी फौजदारी ऐन, फौजदारी कसुर ऐन, मुलुकी देवानी ऐन र मुलुक देवानी कार्यविधिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भदौदेखि एकैसाथ देशभर लागू हुने मुलुकी अपराध ऐनसहितको ५ वटा ऐनको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिएका हुन्।
बिहीबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले ऐन (संहिता)हरुको कार्यान्वयनका लागि नियमावली, दिग्दर्शन र निर्देशिकाहरुमा गरिएका व्यवस्थाहरुको सम्बन्धमा गत बुधबारदेखि उच्च अदालतमा रहेका ७ वटै मुकामहरु र उच्च अदालत अन्तर्गतका इजलास रहेका मुकामहरुमा तत्–तत् क्षेत्रका उच्च अदालतका न्यायाधीशहरु, जिल्ला अदालतका न्यायाधीशहरु, रजिष्ट्रारहरु र अधिकृत एवम् कर्मचारीहरुलाई समेत सहभागी गराई प्रशिक्षण कार्यक्रमहरु सुरु गरिसकिएको पनि स्पष्ट पारे।
सर्वोच्च अदालतले मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को कार्यान्वयन गर्न छुट्टछुट्टै समिति नै बनाएको थियो।
प्रवक्ता पोखरेलले ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने मान्यतालाई आत्मसात गर्दै अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।