काठमाडौं– नेपाली जुडो टिमले १८ एसियाली खेलकुदको तयारी हंगेरीको बुढापेस्टमा गर्ने भएको छ। त्यसक्रममा नेपालले बुढापेस्स ग्रान्ड प्रिक्समा सहभागिता जनाउने छ। सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली जुडो टोली बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ।
अगष्ट १० देखि १२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्। महिलाको ५२ केजीमुनि देविका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७८ केजीमुनि पुनम श्रेष्ठले सहभागिता जनाउने छन्।
उक्त प्रतियोगितामा सहभागी हुन लागेका सातै खेलाडी इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडी हुन्। इन्डोनेसिया एसियाडमा नेपालबाट जुडोमा ८ खेलाडी सहभागी हुँदैछन्। बाँकी एक खेलाडी फुपुल्हामु खत्री टोकियो ओलम्पिक २०२० र एसियाडको तयारीका लागि जापानमा प्रशिक्षणरत छिन्।
बुढापेस्ट ग्रान्ड प्रिक्समा पुरुष ६० केजीमुनि मोहन बमले पनि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्। केहि वर्षएता अस्ट्रेलियामा बस्दै आएका मोहन त्यत्तैबाट बुढापेस्ट पुगिसकेको नेपाल जुडो संघले जनाएको छ।
प्रतियोगिता सम्पन्न भएपछि जुडो टोलीले हंगेरीमै प्रशिक्षण गर्नेछ । अगष्ट २५ तारिखमा हंगेरीबाटै टोली इन्डोनेसिया जाने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।