काठमाडौं– इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ।
खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षण गर्नेछन्। त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकोले नेपाली खेलाडीले उनीहरुसंग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ।
पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन्। महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा छन्। संरक्षक र एनी हाल टोलीमा समावेश छैनन्। संरक्षक अस्ट्रेलियामा अध्ययनका साथै आफ्नो खेललाई निरन्तरता दिइ रहेका छन् भने एनी चेकोस्लोभाकियामा प्रशिक्षणरत रहेको टेनिस संघले जनाएको छ। एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउने छ।
लनटेनिसमा नेपालले १९७० को बैंकक एसियाडदेखि भाग लिन थालेको थियो। सहभागिताको यात्रा १९९० मा चीनको बेइजिङ एसियाडसम्म नियमित रह्यो। त्यसपछिका लगातार ४ संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा एसियाडमा नेपालले लनटेनिसमा सहभागिता जनाएन। चीनको ग्वान्झाव एसियाडदेखि भने नेपालको सहभागिता पुनः निरन्तर छ।
लनटेनिस टोली अगष्ट १७ मा मलेसियाबाटै पालेम्वाङ जाने तालिका छ। एसियाडअन्तर्गत लनटेनिस अगष्ट १९ देखि २६ तारिखसम्म हुनेछ। टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष समेत रहेकी नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारै बिदाइ गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।