काठमाडौं- संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमले जीवनका भोगाइहरु समेटेर तयार पारेको पुस्तक 'ग्लोबल सिटिजन फ्रम गुल्मी' सार्वजनिक भएको छ। ललितपुरको होटल हिमालयनमा मंगलबार आयोजित कार्यक्रममा अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तक विमोचन गरिएको हो।
गुल्मीको दुर्गम गाउँमा जन्मेर राष्ट्रसंघको उच्च ओहोदासम्म पुगेका गौतमले आफ्नो जीवनीलाई पुस्तकमा समेटेका हुन्। मध्यपहाडी जिल्ला गुल्मीको एउटा विकट गाउँबाट उनले कसरी त्यहाँसम्मको यात्रा तय गरे? के कस्ता चुनौती सामना गरे? जीवनमा कस्ता उतार चढाबहरु आए भन्नेबारे २० वटा शीर्षकमा आफ्नो अनुभव लेखेका छन्।
संस्कृतिविद् सत्यमोहन जोशी, संविधानविद् निलाम्बर आचार्य, आनी छोइङ, गुल्मीबाट प्रतिनिधिसभामा विजयी भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री गोकर्ण विष्टसहितका व्यक्तित्वले गौतमको पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए।
कार्यक्रममा मन्त्रीद्वय ज्ञवाली र विष्टले गुल्मीबाटै माथि उठेर गौतमले आर्जन गरेको विश्व अनुभव नेपालीका लागि अमूल्य रहेको बताए।
कार्यक्रममा गौतमले उक्त पुस्तक बिक्रीबाट आर्जन भएको बसै आम्दानी प्रदेश २ का बालिकाको शिक्षा र महिलाको सशक्तीकरणका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाए।
गौतमको पुस्तक अमेजोनको पिओडी (प्रिन्ट अन डिमान्ड) र किन्डल मार्फत संसारभर उपलब्ध हुने प्रकाशक संस्था नेपालयले जनाएको छ। नेपालयले गौतमको उक्त पुस्तकलाई चाँडै नेपाली भाषामा समेत ल्याउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।