काठमाडौं– नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ लिएर काठमाडौं आउने क्रममा तीन जना पक्राउ परेका छन्। हेटौंडाका ज्योती रत्न बज्राचार्य, हरि शरण श्रेष्ठ र प्रेमलाल श्रेष्ठलाई प्रहरीले सोमबार बेलुका फर्पिङ बजारबाट पक्राउ गरेको हो।
बा ६ च ३७७९ नम्बरको हुन्डाई टक्सन कारको सिट पछाडी लुकाएको अवस्थामा महानगरीय प्रहरी प्रभाग फर्पिङले तीन लाख ६३ हजार दुई सय रुपैयाँ बरामद गरेको छ। पक्राउ परेकामध्ये प्रेमलाल गाडीका चालक हुन्।
बरामदमध्ये एक लाख रुपैयाँ एक हजार दरका छन्। नेपालमा एक हजार र पाँच सय दरका भारतीय रुपैयाँ प्रतिबन्धित छन्।
पक्राउ परेकालाई प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।