काठमाडौं– आज (शुक्रबार)देखि काठमाडौंको भृकुटिमण्डपमा इभि नेपाल एक्स्पो सुरु भएको छ। यो विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालकै ठूलो प्रदर्शनी भएको आयोगकको दाबी छ।
एस डी एक्स्पो मिडिया प्रमुख आयोजक रहेको यो एस्पोको सह–आयोजक भने इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ। यो प्रदर्शनीका लागि अटो नेपाल, पावर टल्क , कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन्।
नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनु एक्स्पो आयोजना गरिएको आयोजकको भनाइ छ। आयोजकका अनुसार पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि एक्स्पोमार्फत् जनमानसमा सूचित गरिने छ।
पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ। विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्दछ। यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै स्वच्छ उर्जाको खपत बढाउँछ।
एक्स्पोमा विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनका लागि राखिएको छ।
प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू तथा ५ सयभन्दा बढी विभिन्न देशका ब्रान्डको सहभागिता रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।