काठमाडौं– कतारमा जारी २२ औं संस्करकणको विश्वकप फुटबलको नकआउट चरण प्रवेश जिवितै राख्न अमेरिकालाई आज (शुक्रबार) को खेलमा जित्नैपर्ने दबाब छ।
बलियो प्रतिद्वन्द्वी इंग्ल्याण्डसँग आज मैदानमा उत्रिँदा अमेरिका पूर्णरुपमा दबाबमा हुनेछ। यो समूहमा इंग्ल्याण्ड, वेल्स, अमेरिका र इरान छन्।
इंग्ल्याण्डको अर्को चरणको सम्भावना सबैभन्दा पहिलो छ। पहिलो खेलमा इरानलाई ४–० गोलले पराजित गर्दै इंग्ल्याण्ड ३ अंक जोड्दै शीर्ष स्थानमा छ। अब खेल्ने दुई खेलमध्ये एक खेलमा जित निकालेको अवस्थामा इंग्ल्याण्ड अर्को चरण प्रवेश गर्नेछ।
यही समूहका वेल्स र अमेरिकाले पहिलो खेल बराबरीमा सकाएका थिए। यी दुवैको समान एक–एक अंक छ। जसकारण नकआउट चरण प्रवेशका लागि अमेरिकालाई जित्नै पर्ने दबाब छ।
यता इंग्ल्याण्ड भने अमेरिकालाई हराउँदै नकआउट चरण आजै सुरक्षित गर्ने दाउमा देखिन्छ।
विश्वकपमा यी दुई टोलीको यो तेस्रो भेट हो। यसअघिका दुई भेटमा सन् १९५० मा अमेरिका १–० ले विजयी भएको थियो। सन् २०१० को विश्वकपमा पनि यी दुई टोलीले १–१ को ड्र खेलेका थिए।
सबै प्रतियोगिता गरेर अहिलेसम्म यी दुई टोलीबीच ११ पटक भेट भएको छ। जसमध्ये ८ खेल इंग्ल्याण्डको पक्षमा देखिन्छ। अमेरिकाले दुई खेल जितेको छ भने एक खेल बराबरीमा रोकेको थियो।
सन् १९८२, २००६ र २०१८ मा गरी तीन वटा विश्वकपमा सुरुका दुई खेल लगातार जितेर नकआउट चरणमा प्रवेश गरेको थियो। आज फेरि अमेरिकालाई हराउँदै सुरुका दुई खेल जित्दै नकआउट चरण पार्ने दाउमा छ इंगल्याण्ड।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।