पाल्पा- रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा जीप दुर्घटना हुदाँ बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। शनिबार साँझ दुर्घटनामा परेको जिपमा रहेका तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउनेको शब आइतबार दिउँसो फेला परेको हो। उनीहरुको शव दुर्घटनाग्रस्त जीपले च्यापेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
आइतबार बिहानैदेखिको प्रयासपछि नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा मृतकहरुको शव घटनास्थलबाट बाहिर निकालिएको थियो। जीपले च्यापेको अवस्थामा दुई जनाको शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुवै जनाको शव जिल्ला अस्पताल पाल्पामा ल्याएर परीक्षण गरी आफन्तले दाहसंस्कारका लागि लगेका छन्।
ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै गरेको बा१च ८९७० नम्बरको टोयटा जीप शनिबार साँझ धारदीगैरामा दुर्घटना हुदाँ दुई जना बेपत्ता भएका थिए। शनिबार साँझ प्रहरीसहित स्थानीयबाबासीको टोलीले दुर्घटनास्थल भीर, खोल्सो भएको र वर्षाका कारण जीप र शव फेला पार्न सकेका थिएनन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।