कैलाली– कैलालीमा महिला बेचबिखन तथा ओसारपसारका घटनामा लगातार वृद्धि भइरहे पनि प्रहरी प्रशासनमा उजुरीको संख्या भने न्यून रहेको छ।
कैलालीमा कार्यरत माइती नेपाल, थ्री एन्जल्स नेपाल र पुनर्स्थापना गृहको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा बेचबिखनमा परेका २ सय ९ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ।
माइती नेपालको कैलाली शाखाले आर्थिक वर्ष २०७४/०७५ मा गौरीफन्टा नाका भएर भारततर्फ लैजाँदै गरिएका १ सय १९ जना महिला तथा बालबालिकाको उद्धार गरिएको जनाएको छ। त्यस्तै, थ्रि एन्जल नेपालले १९ र पुनर्स्थापना गृह नेपालले ५२ जनाको उद्धार गरेको जनाएको छ। माइती नेपालले अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा भारततर्फ लैजाँदै गरिएका ८६ जनाको उद्धार गरेको थियो।
महिला तथा बालबालिकाको सिमानाकाबाट उद्दार गर्ने संख्या वर्षेनी बढ्दै गए पनि जिल्ला प्रहरी कार्यालयमा न्यून संख्यामा मात्रै उजुरी आउने गरेको देखिएको छ।
कैलाली जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा महिला बेचबिखन तथा ओसारपसार सम्बन्धि ४ वटा उजुरी परेका थिए भने आर्थिक वर्ष २०७४/०७५ मा भने उजुरीको संख्या बढेर ९ पुगेको छ।
माइती नेपाल, थ्रि एन्जल्स, पुनर्स्थापना केन्द्रसहितका संघसंस्थाले उद्धार गरिएका प्रायः महिलाले आफूहरू नातागोताका व्यक्ति, इष्टमित्र, छिमेकी तथा अज्ञात व्यक्तिको प्रलोभनमा परेर रोजगारी गर्न वा विवाह प्रयोजनका लागि भारत जान लागेको बताउने गरेका छन्। एक अध्ययन अनुसार नेपालबाट वर्षेनी १५ हजार बढी नेपाली महिला/युवती भारत वा भारत हुँदै तेस्रो मुलुक पुर्याइने गरिएको छ।
उद्धार गरिएका महिलाहरूसँगको कुराकानीका क्रममा उनीहरु प्रायःले राम्रो रोजगारी पाइने आशामा विदेश जान लागेको बताउने गरेका छन्। राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भन्दै दलालले महिलाहरुलाई प्रलोभनमा पारेर अवैध बाटोबाट विदेश लैजाने गरेको अध्ययनले देखाएको छ। नेपालबाट भारतसम्म पुर्याउन सीमा कटाउने व्यक्ति प्रायः फरार हुने भएकाले चेलीबेटी ओसारपसार तथा बेचबिखनमा संलग्न दलालहरुले मौका पाइरहेका छन्।
दलालले नयाँनयाँ तरिका अपनाएर चेलीबेटीलाई भारत लैजाने गरेको माइती नेपाल कैलाली शाखाका प्रमुख शिवचरण चौधरीले बताए। ‘गौरिफन्टा सिमानाका भएर भारत हुँदै तेस्रो मुलुकमा समेत चेलिबेटी बेचबिखन भइरहेको छ।’, उनले भने, ‘यस्तो गिरोहका व्यक्तिले किनमेल गर्न सिमावर्ती बजार जान लागेको, स्वेच्छाले जान लागेको, आफन्त र परिवारका सदस्यका साथ जान लागेको भन्न सिकाउने गरेको पाइएको छ।’
माइती नेपाल कैलालीका प्रमुख चौधरीले भारतसँग खुला सिमाना भएकाले दलालहरूलाई सीमा कटाउन सजिलो भइरहेको बताए। उनले नेपालका पूर्वी जिल्लाबाट समेत महिलालाई ल्याई यही नाका हुँदै भारत लैजाने गरिएको दावी गरे।
थ्रि एन्जल्स नेपाल कैलालीकी सहायक प्रमुख कमला साउदका अनुसार विशेषगरी विवाहित महिलाहरु फेसबुक तथा फोनमा परिचय भएको भरमा भारत जाने गरेका छन्। ‘१६ देखि २० वर्षका युवतीहरु धेरै जसो बेरोजगारीका कारण दलालको फन्दामा परिरहेको भए पनि श्रीमान् विदेश गएका कतिपय महिला अर्को बिहे गर्ने नाममा समेत दलालको हातमा परिरहेको पाइन्छ।’, उनले भनिन्, ‘घरमा छोराछोरी छोडेर अर्कै पुरुषसँग भारततर्फ गइरहेको अवस्थामा पनि केही महिलालाई उद्धार गरेर घर फर्काएका छौं।’
उनले बिना परिचय फोनमा कुरा भएको भरमा युवतीहरु घर छोडेर आउने तथा अर्को बिहे गर्ने रहरमा विवाहित महिलाहरु आफन्तबाटै बेचिने गरेको पनि कतिपय घटनाले देखाएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।